पोखरा २७ चैत । पोखरामा भोलीदेखि सुरु हुने १२ औं फेवा नव वर्ष महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । पोखरा बसुन्धरा पार्कमा सुरु हुन लागेको महोत्सवको तयारी सकिएको पश्चिमाञ्चल होटल संघले जानकारी दियो । यसपटकको महोत्सवमा चीनबाट समेत स्टलहरु सहभागी हुने महोत्सव आयोजक पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए । चीनको विइसियानबाट त्यहाँका मेयर सु चुनहुई सहितको टोली पोखरा आउने तयारी भइरहेको संघका सल्लाहकार विश्वशंकर पालिखेले जानकारी दिए ।  

चीनबाट कूल १० वटा स्टल सहभागी गराउने तय भएकोमा विचमा नेपाल बन्द लगायत विविध कारणले चार वटा स्टल मात्र आउने निश्चित गरिएको संघले जनाएको छ । स्टलमा चिनियाहरुले चीन सम्बन्धी जानकारी समेटिएका प्रचार सामग्री बाँड्ने लगायत चिनिया संस्कृति सम्बन्धी जानकारी प्रदान गर्ने कार्यक्रम रहेको छ ।पर्यटन, संस्कृति र खानालाई केन्द्रित गरी आयोजना गर्न लागिएको महोत्सवमा कूल ६० वटा स्टल रहने र महोत्सव आयोजना गर्न ५० लाख रुपैयाँ भन्दा बढी खर्च हुने महोत्सवका संयोजक लक्ष्मण सुबेदीले जानकारी दिए ।  महोत्सवका अवसरमा संघले होटलका विस्तारामा १५ प्रतिशत र खानामा १० प्रतिशत छुटको घोषणा यस अघि नै गरिसकेको छ । महोत्सवका अवसरमा यसपटक लेकसाइडको सडकमा चैत ३० र वैशाख एक गते सडक महोत्सव समेत आयोजना गर्ने तयारी अगाडि बढाइएको छ । रेवान पोखरासँग सहकार्य गरी सडक महोत्सव आयोजना गर्न लागिएको संघका महासचिव भेकेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।  अंग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ वर्षलाई समेत धुमधामले मनाउँदै आफ्नै मौलिक संस्कृति र फेवा तालको संरक्षण गर्ने उद्धेश्यले यो महोत्सव आयोजना गर्न लागिएको संघका प्रथम उपाध्यक्ष विकल तुलाचनले जानकारी दिए । महोत्सवका अवसरमा २९ गते फेवा तालमा डुंगा दौड र ३० गते पर्यटक दौड आयोजना गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा कूल एक लाख पर्यटक आउने अनुमान संघले गरेको छ । महोत्सव आगामी वैशाख २ गते सम्म चल्ने छ ।

Post a Comment

 
Top