२७ चैत, काठमाडौं । नेकपा एमालेले राजधानीलाई छुट्टै प्रदेश बनाउने गरी आठ प्रदेश बनाउन सकिने प्रस्ताव अघि सारेको छ । तर, झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई पहाडमा बन्ने प्रदेशमा राख्नुपर्ने उसको सर्त छ ।  आउँदो सोमबार बस्ने संविधानसभाको बैठकअघि नै सहमति जुटाउने प्रयासमा प्रमुख दलहरुबीच औपचारिक र अनौपचारिक छलफल तीव्र भइरहेको छ । तर, संघीय प्रदेशहरुबारे अझै सहमति हुन सकेको छैन ।
कांग्रेस एमालेको प्रस्तावित सात प्रदेशको प्रस्ताव  स्रोतका अनुसार एमाओवादी नेताहरुसँग भएको छलफलमा एमालेले आठ प्रदेश बनाउने प्रस्ताव राखेको छ । ‘धेरै प्रदेश बनाउनु हुँदैन भन्ने हाम्रो मान्यता हो’ एमालेका एक नेताले अनलाइनखबरसँग भने-‘तर, पाँच जिल्ला उत्तरतिर रहन्छन् भने हाामीले प्रस्ताव गरेको सात प्रदेशको सीमांकन कायम रहने गरी ८ प्रदेश हुन सक्छ भनिएको हो ।’  
राजधानीमा छुट्टै प्रदेश  
एमालेले अघि सारेको आठ प्रदेशको प्रस्तावमा राजधानीमा छुट्टै प्रदेशको परिकल्पना गरिएको छ । यसरी बनाइने प्रदेशहरुको नाम भने प्रदेशसभाले नै राख्नुपर्ने एमालेको अडान छ । भविश्यमा प्रदेश सभाले नाम राख्दा कुनै हालतमा जातीय नाम नराख्ने उसको विश्वास छ ।  सात प्रदेशको अन्य सीमाकंन कायम रहने गरी राजधानीमा छुट्टै थप्ने उसको प्रस्ताव छ । ‘राजधानीमा विशेष प्रदेश रहनुपर्छ भन्ने मसहुस हुँदै आएको छ, त्यही भएर प्रस्ताव आएको हो’ एक नेताले भने ।  एमाओवादी नेताहरुले पनि आठ प्रदेश मान्न सकिने बताएका छन् । तर, सीमांकन फरक छ ।  एमाओवादीले कांग्रेस र एमालेको नौबुँदे अवधारणामा प्रस्ताव गरिएको सात प्रदेशको सीमांकन भने स्वीकार्य नभएको बताएको छ । उसले झापा, मोरङ र सुनसरी र आसपासका जिल्लालाई मिलाएर छुट्टै प्रदेश बनाउने र अन्य प्रदेशहरुको हकमा बस्तीहरुको सघनतालाई कायम रहने गरी बनाउनुपर्ने बताएको छ ।  तर, एमालेले झापा, मोरङ र सुनसरीको हकमा अन्य कुनै पनि विकल्प स्वीकार्य नभएको बताएको छ । एमाओवादीका साथै कांग्रेसका केही नेताहरुले तीन जिल्लालाई केन्द्र प्रशासित बनाउने प्रस्ताव गरेका छन् । तर, एमालेले त्योसहित स्थानीय जनमत संग्रह र जिल्ला विभाजन गर्ने प्रस्तावलाई समेत अस्वीकार गरेको छ ।  
एमाले-एमाओवादी अविश्वास कायमै  
पछिल्लो समयमा भएका छलफलहरुमा कांग्रेस र एमाओवादीको अविश्वास धेरै घटेको र नयाँ वातावरण बनेको दुबै दलका नेताहरुले बताएका छन् ।  तर, एमाले र एमाओवादीबीच भने त्यस्तो देखिएन । स्रोतका अनुसार उनीहरुबीचको अविश्वास घटेको छ भए पनि दुबै दल एकअर्काप्रति आशंकित छन् ।  एमालेले एमाओवादी जातीय राज्य बनाउने पक्षमा रहेको दाबी गर्दै आएको छ । झापा, मोरङ र सुनसरीलाई पूर्वमा बन्ने प्रदेशमा नराख्ने एमाओवादीको प्रस्ताव जातीय प्रदेश बनाउन भएको एमालेको बुझाइ छ ।  एमाले एक नेताले भने-अहिले पनि सहमतिको सम्भावना मैले देखेको छैन, उनीहरु ३० चैत कटाउन र आफ्नो योजना अनुसार नै जातीय प्रदेश बनाउन चाहन्छन्, जुन एमालेलाई स्वीकार्य हुँदैन ।’  तर, एमाओवादीले भने एमाले संघीयताबाटै पछि हट्न खोजेको विश्लेषण गरेको छ । झापा, मोरङ, सुनसरीबारे आफूहरुले धेरै विकल्प दिएको तर, एमालेले के प्रस्ताव अघि सार्दा सहमति हुँदैन, त्यही प्रस्ताव ल्याउने गरेको एमाओवादी बुझाइ छ ।

Post a Comment

 
Top