आगामी वैशाखसम्ममा ३३ वटा बैंक तथा फाइनान्स कम्पनी ‘मर्ज’ भएर १३ वटा बन्ने भएका छन् । ‘मर्जर’को लागि राष्ट्र बैंकले दिएको सैद्धान्तिक अनुमति र ‘मर्जर’को लागि सम्बन्धित बैंक तथा फाइनान्स कम्पनीहरुले गरेको सम्झौतासमेतको आधारमा झण्डै तीन दर्जनको हाराहारीमा कम्पनीहरु ‘मर्जर’मा जानलागेका हुन् । ‘मर्जर’मा जानको लागि औपचारिकरुपमा सम्झौता गरिसकेका कम्पनीहरुमा ११ वटा वाणिज्य बैंक, १० वटा राष्ट्रियस्तरका विकास बैंक, छवटा क्षेत्रीयस्तरका विकास बैंक र छवटा फाइनान्स कम्पनीहरु रहेका छन् । ‘मर्जर’मार्फत बन्ने १३ वटा नयाँ संस्थाहरुमा भने सातवटा वाणिज्य बैंक, चारवटा राष्ट्रियस्तरका विकास बैंक र दुईवटा राष्ट्रियस्तरका फाइनान्स कम्पनीहरु रहनेछन् । राष्ट्रियस्तरका वित्तीय कारोबार गर्दै आएको सिद्धार्थ डेभलपमेन्ट बैंकले क्षेत्रीयस्तरको एकता विकास बैंक र नेपाल आवास फाइनान्स कम्पनीलाई गाभेर सिद्धार्थ डेभलपमेन्ट बैंककै नाउँमा एकीकृत कारोबार गर्ने तयारी गरेको छ । ‘मर्जर’पश्चात् सिद्धार्थ डेभलपमेन्टको चुक्ता पुँजी एक अर्ब १४ करोड ४४ लाख ९० हजार कुल निक्षेप  १० अर्ब सात करोड र कर्जा आठ अर्ब ५५ करोड रुपैयाँ पुुग्नेछ । सोसाइटी डेभलपमेन्ट बैंक पनि भिबोर डेभलपमेन्ट बैंकसँग गाभिएर भिबोरकै नाउँमा एकीकृत कारोबार गर्ने अन्तिम तयारीमा रहेको छ । एकीकृत कारोबारपश्चात् भिबोरको चुक्ता पुँजी एक अर्ब ८१ करोड ५० लाख रुपैयाँ पुुग्नेछ । गत असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार ‘मर्जर’पश्चात् कुल निक्षेप ११ अर्ब रुपैयाँ तथा कुल कर्जा नौ अर्ब रुपैयाँ कायम हुनेछ ।  काठमाडौं फाइनान्स र समस्याग्रस्त घोषणा भएको गोर्खा डेभलपमेन्ट बैंकले पनि ‘मर्जर’को प्रक्रिया सुरु गरिसकेका छन् । ‘मर्जर’को लागि गोर्खाले राष्ट्र बैंकको निर्देशनमा आफ्नो झण्डै ६४ करोड रुपैयाँको चुक्ता पुँजीलाई १९ करोड रुपैयाँको चुक्ता पुँजी स्वाप रेसियो कायम गरिसकेको छ । यसैगरी बैंक अफ काठमाण्डू र लुम्बिनीले पनि ‘मर्जर’ प्रक्रिया सुरु गरिसकेका छन् । दुवैले ‘मर्जर’पश्चात् पनि बैंक अफ काठमाण्डू नौ नाउँमा  वित्तीय कारोबार गर्ने गरी सम्झौता गरिसकेका छन् । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र एभरेष्ट फाइनान्सने पनि श्री इन्भेष्टमेन्टकै नाउँमा एकीकृत कारोबार सुरु गर्ने गरी सम्झौता गरिसकेका छन् । श्री इन्भेष्टमेन्टको हालको चुक्ता पुँजी २२ करोड तथा एभरेष्टको चुक्ता पुँजी १३ करोड ७५ लाख रुपैयाँ रहेको छ । ‘मर्जर’पश्चात् बन्ने एकीकृत फाइनान्सको चुक्ता पुँजी झण्डै ३६ करोड रुपैयाँ पुुग्नेछ । कैलाश विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्सले पनि आगामी वैशाखदेखि नै कैलाश विकास बैंकको नाउँमा एकीकृत कारोबार गर्ने तयारी गरेका छन् । तीनवटै संस्था चैत मसान्तभित्र गाभिएर वैशाखबाट एकीकृत कारोबार गर्ने योजनामा छन् । २०७२ असारको वित्तीय विवरणअनुसार तीनवटै संस्था गाभिएपछि पुँजी दुई अर्ब नाघ्नेछ । निक्षेप १२ अर्ब ३० करोड, कर्जा १० अर्ब ७७ करोड र शाखा ३८ पुग्नेछ ।  सिद्धार्थ बैंक र बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकको ‘मर्जर’ प्रक्रिया सुरु भइसकेको छ । ‘मर्जर’पश्चात् सिद्धार्थ डेभलपमेन्ट बैंककै नाउँमा एकीकृत कारोबार गर्ने तयारी रहेको बैंकको चुक्ता पुँजी तीन अर्ब ५८ करोड रुपैयाँको हाराहारीमा पुुग्नेछ । यता नेपाल क्रेडिट एण्ड कमर्स बैंकसँग पनि कुमारी बैंकसहित इन्टरनेशनल डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक र सुप्रिम बैंक मर्ज हुनलागेका छन् । ‘मर्जर’पश्चात् कुमारी बैंककै नाउँमा एकीकृत कारोबारको तयारीमा रहेको बैंकको चुक्ता पुँजी झण्डै छ अर्ब रुपैयाँको हाराहारीमा पुुग्नेछ । ज्योति विकास बैंकले पनि क्षेत्रीयस्तरको हाम्रो विकास बैंक र झिमरुक विकास बैंकलाई गाभ्ने प्रक्रिया सुरु गरिसकेको छ । ‘मर्जर’पश्चात् ज्योतिकै नाउँबाट एकीकृत कारोबार गर्ने बैंकको चुक्ता पुँजी एक अर्ब ११ करोड रुपैयाँको हाराहारीमा पुुग्नेछ । यसबाहेक सिभिल बैंकले इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनीलाई गाभ्ने तयारी गरेको छ भने मेगा बैंकले पश्चिमाञ्चल डेभलपमेन्ट बैंकलाई गाभ्ने तयारी गरिरहेको छ । ग्राण्डलाई आफूमा गाभ्न लागेको प्रभु बैंकले भने माघ मसान्तबाट नै एकीकृत कारोबार गर्ने तयारी गरिरहेको छ ।
 मर्जरको अन्तिम चरणमा रहेका  बैंकहरु हेरौं 

Post a Comment

 
Top