पोखराका पर्यटन व्यवसायीले उत्तर भारतका चार प्रमुख शहरमा मंगरबारबाट पाँच दिने पर्यटन प्रवद्र्धन अभियान संचालन गर्दैछन् । विनासकारी भूकम्प र लगातारका नेपाल बन्दले थिलोथिलो भएको पर्यटन क्षेत्रलाई उकास्न यो अभियान संचालन गर्न लागिएको हो ।
पश्चिमाञ्चल होटल संघ पोखरा र पोखरा पर्यटन पुनर्जागरण कमिटि (पीटीआरसी)ले नेपाल पर्यटन बोर्डसँग मिलेर संयुक्त रुपमा ‘चलिए पोखरा’ अभियानल संचालन गर्न लागेको आयोजक पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए । चलिए पोखरा नाम दिएर संचालन गर्न लागिएको अभियानमा पोखरा, सुनौली, भैरहवा र लुम्बिनीका पर्यटन व्यवसायी, नेपाल पर्यटन वोर्डका अधिकारी एवं संचारकर्मी गरी कूल ३२ जना सहभागी हुने पराजुलीले सुनाए ।
कार्यक्रम अन्तर्गत यही भदौ ८ देखि १२ गते सम्म भारतका लखनउ, कानपुर, बनारस र गोरखपुरको भ्रमण गरी पोखरा लगायत समग्र नेपालको प्रवद्र्धन गरिने अभियानका संयोजक हरिप्रसाद शर्मा गैह्रेले जानकारी दिए । संघले तीन वर्ष अघि २०१२ मा पहिलोपटक भारतीय बजारमा चलिए पोखरा अभियानको सुरुवात गरेको थियो ।
सो समयमा गोरखपुर, लखनउ र कानपुरमा पहिलोपटक चलिए पोखरा अभियान संचालन गरेपछि त्यसको प्रभाव पोखराको पर्यटनमा सकारात्मक परेपछि कार्यक्रमलाई पुनः सञ्चालन गर्न लागिएको नेपाल पर्यटन वोर्ड पोखरा शाखाकी इन्चार्ज श्रद्धा श्रेष्ठले जानकारी दिइन् । गत वर्ष भने संघले भारतका गोरखपुर, बनारस, इलाहबाद र फैजाबादमा यस्तो अभियान सञ्चालन गरेको थियो । यसअघि संघले एकल रुपमा संचालन गर्दै आएको अभियान यो पटक पीटीआरसीसँग मिलेर संचालन हुन लागेको हो ।
पोखरा र यस वरपरका पर्यटकीय गाउँहरुलाई भारतीय शहरहरुमा प्रचार गर्नु र भारतीय पर्यटकलाई विशेष प्याकेजका साथ पोखरा भ्रमणका लागि निम्तो दिनु अभियानको उद्धेश्य रहेको पीटीआरसीको प्रवद्र्धन उपसमितिका संयोजक वासुदेव त्रिपाठीले जानकारी दिए । पत्रकार सम्मेलनहरु र द्विपक्षीय व्यापारिक भेटघाट (वीटुवी) कार्यक्रमका साथ प्रचारात्मक गतिविधिहरु अगाडि बढाउने योजना अभियानले समेटेको उनले बताए । बोर्डर टाउन सेल्स मिसन अन्तर्गत संचालन हुने यस अभिायनले नेपालमा भारतीय पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुने अपेक्षा व्यवसायीले गरेका छन् ।
पोखरा पर्यटन परिषद्का अनुसार नेपाल घुम्न आउने पर्यटकमध्ये ३३ प्रतिशत भारतीय छन् । तीनमा ३० प्रतिशत पोखरा आउँछन् । सन् २०१४ मा सबै राष्ट्रका गरी कूल सात लाख ९० हजार पर्यटक नेपाल भित्रिएका थिए । भारतीय पर्यटक सामान्यतया चितवन, पोखरा, मनकामना हुँदै प्रसिद्ध तीर्थस्तल मुक्तिनाथ पुग्न विर्सदैनन् ।

Post a Comment

 
Top