समस्याग्रस्त अवस्थाबाट गुज्रिरहेको ग्राण्ड बैंकलाई प्रभुले आफुमा विलय गरे पश्चात दुवै बैंकले एकै दिन चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विबरण प्रकाशित गरेका हुन् । ग्राण्ड बैंकले प्रकाशित गरेको यो वित्तीय विबरण नै अन्तिम वित्तीय विबरण हुनेछ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा प्रभु बैंकको खुद नाफामा गिरावट आएको छ भने ग्राण्ड बैंकको खुद नाफामा बढोत्तरी भएको छ । प्रभुले पुस मसान्तसम्ममा ४० करोड ५६ लाख ४४ हजार रुपैंया खुद नाफा कमाएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा उसले ५४ करोड २ लाख ११ हजार रुपैंया खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा बैंकको खुद नाफामा साढे १३ करोड रुपैंयाभन्दा बढीको गिरावट आएको हो ।

उता ग्राण्ड बैंकले भने चालु आर्थिक वर्षको दास्रो त्रैमासमा गत आर्थिक वर्षको नोक्सानलाई नाफामा परिणत गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ग्राण्डले १३ करोड ८६ लाख ८४ हजार रुपैंया नोक्सान व्यहोरेकोमा यस पटक १४ करोड ९१ लाख ३६ हजार रुपैंया खुद नाफा कमाएको छ । ग्राण्डका अन्य सुचांकहरु भने नकरात्मक अवस्थामा रहेका छन् । प्रभु बैैकमा विलय भए पश्चात यसले प्रभु बैंकको अहिलेको वित्तीय अवस्थालाई सुधार गर्न थप चुनौतीको सामना गर्नुपर्ने देखिएको छ ।
समिक्षा अवधिमा प्रभु बैंकले निक्षेप संकलन ३३ अर्ब १६ करोड रुपैंयाबाट बढेर ४७ अर्ब ९८ करोड रुपैंया पुर्याएको छ भने ग्राण्डले ६ महिनामा १ अर्ब १० करोड रुपैंया निक्षेप संकलन गरेको छ ।

प्रभु बैंकले २७ अर्ब २० करोड रुपैंया कर्जा प्रवाहलाई बिस्तार गरि ३१ अर्ब ७९ करोड रुपैंया पुर्याएको छ भने ग्राण्डको कर्जा प्रवाह ११ अर्ब ८५ करोड रुपैंयाबाट घटेर ८ अर्ब ३४ करोड रुपैंयामा झरेको छ । ग्राण्ड बैंकले कर्जा प्रवाहलाई नियन्त्रण गरेको भए पनि उसको खराब कर्जा अनुपात भने गत आर्थिक वर्षको ६ महिनाको अवधिको २६ दशमलव ६१ प्रतिशतबाट बढेर ३४ दशमलव ५३ प्रतिशतमा पुगेको छ । उता प्रभु बैंकको खराब कर्जा अनुपात गत आर्थिक वर्षको दास्रो त्रैमासमा १० दशमलव ८६ प्रतिशत रहेकोमा यस पटक ५ दशमलव ५३ प्रतिशतमा झरेको छ ।

पुस मसान्तसम्ममा प्रभु बैंकले २६ करोड ३३ लाख ४ हजार रुपैंया राइट व्याक गर्दा प्रोभिजन फण्ड ५ करोड ३७ लाख रुपैंयाले नकरात्मक बनेको छ भने ग्राण्डले पनि ३६ करोड ४ लाख ९६ हजार रुपैंया राइट व्याक गर्दा उसको प्रोभिजन फण्ड ११ करोड ५० लाख रुपैंयाको बनेको छ । व्याज आम्दानीमा प्रभुले ६९ करोड १३ लाख रुपैंयालाई बढाएर ७० करोड ७३ लाख रुपैंया बनाएको छ भने ग्राण्डको १३ करोड ७१ लाख रुपैंया घटेर यस पटक ८ करोड रुपैंयामा झरेको छ । गत आर्थिक वर्षमा १५ करोड २६ लाख रुपैंया सञ्चालन नोक्सानी व्यहोरेको प्रभुले यस पटक ३१ करोड ९८ लाख रुपैंया सञ्चालन मुनाफा कमाएको छ । उता ग्राण्डले सञ्चालन नोक्सानको मात्रा ३३ करोड ४० लाख रुपैंयाबाट १२ करोड ८३ लाख रुपैंयामा झारेको छ ।

समिक्षा अवधिमा प्रभु बैंकको पूँजीकोष अनुपात ११ दशमलव १४ प्रतिशतबाट १० दशमलव ५५ प्रतिशतमा आर्लिएको छ भने ग्राण्डको अवस्था झनै दयनिय बनेको छ । ग्राण्डको पूँजीकोष अनुपात गत आर्थिक वर्षको दास्रो त्रैमासमा ७ दशमलव ७६ प्रतिशत रहेकोमा यस पटक घटेर २ प्रतिशतले नकरात्मक बनेको छ । प्रभुको चुक्ता पूँजी ३ अर्ब २० करोड ८८ लाख रुपैंया तथा जगेडा कोष ९० करोड ९० लाख रुपैंया छ । उता २ अर्ब रुपैंया चुक्ता पूँजी भएको ग्राण्ड बैंकको जगेडा कोष १ अर्ब ३४ करोड ७७ लाख रुपैंयाले नकरात्मक छ । प्रभु बैंकको प्रतिशेयर आम्दानी २५ रुपैंया २८ पैसा छ भने ग्राण्डको प्रतिशेयर आम्दानी १४ रुपैंया ९१ पैसा छ । अन्तिम पटक भएको कारोबारको आधारमा प्रभु बैंकको प्रतिकित्ता शेयर मुल्य ४ सय १५ रुपैंया छ भने ग्राण्डको १ सय ८४ रुपैंया छ । गत वर्षको माघदेखि ग्राण्ड बैंकको शेयर कारोबार रोक्का भएकोमा गत अशोजदेखि प्रभु बैैकको पनि शेयर कारोबार रोक्का भएको थियो ।

अन्य सुचांकहरुमा प्रभुको मुल्य आम्दानी अनुपात १६ दशमलव ४२ प्रतिशत, तरलता अनुपात ४१ दशमलव ३१ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय २८ रुपैंया ३३ पैसा रहेको छ । उता ग्राण्ड बैंकको मुल्य आम्दानी अनुपात १२ दशमलव ३४ प्रतिशत, तरलता अनुपात ५ दशमलव ८३ प्रतिशत र प्रतिशेयर ३६ रुपैंया ६२ पैसा रहेकोछ । बुधबार मध्यान्हदेखि दुवै बैंकका सबै सेवा बिहीबार बेलुकासम्मका लागि बन्द गरि प्रभु बैंकका नामबाट शुक्रबारदेखि एकिकृत कारोबार सुरु हुँदैछ ।

Post a Comment

 
Top