गोरखा, कार्तिक १६ –गोरखा नगरपालिका २ धारापानी गान्धारी टोलका बीरबहादुर रम्तेलको हत्यामा संलग्न ४ जनालाई जिल्ला प्रहरी कार्यालय गोरखाले आज सार्वजनिक गरेको छ । हत्यामा संलग्न भएको आरोपमा गाँखु गाविस वडा नं. २ घर भई गोरखा नगरपालिका ३ हरमटारी बस्ने १६ बर्षिय रुपेश गुरुङ र सोही उमेर समुहको बुंकोट गाविस घर भई गोरखा नगरपालिका १ बसपार्क बस्ने कौशल राना मगर, गोरखा नगरपालिका ६ सिमलगैरी  बस्ने १७ बर्षिय शिशिर राना मगर र गोरखा नगरपालिका ४ रिप बस्ने सुजन थापा मगरलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । उनीहरुलाई कर्तव्य ज्यान उद्योगमा मुद्धा दर्ता गरिएको प्रहरी नायव उपरिक्षक रमेश थापाले बताउनुभयो ।
घटनाको प्रत्यक्षदर्शी भएर पनि खवर नगरेको आरोपमा गोरखा नगरपालिका २ नयाँबजारका विजय शाही पनि पक्राउ परेका छन् । गत कात्तिक १२ गते करिब ९ बजेको समयमा मल्टी ट्यालेन्ट ग्रुपले शक्तिचोकमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा मृतक बिरबहादुर सहित आरोपी सवै जना सहभागी भएका र मादक पदार्थ सेवन गरेपछि बिरबहादुरले पुरानो रिसीबिका कारण झगडा हुदा बिरबहादुरको ज्यान गएको प्रहरीले जनाएको छ ।
बिरबहादुरलाई मुक्काले र ढुङ्गाले प्रहार गरी उनिहरुले हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । बिर बहादुरको गत कात्तिक १३ गते बिहान शव भेटिएको थियो ।
प्रहरीले घटनामा संलग्नहरुबाट मृतकको जुत्ता एक जोर, रुपेश गुरुङको रगत लागेको पाईन्ट १ थान, रुपेश गुरुङ र शिशिर राना मगरको  रगत लागेको पाइन्ट १÷१ थान, सुजन थापा मगरको रगत लागेको पाईन्ट, टिसर्ट र स्विटर १÷१ थान, कौशल राना मगरको रगत लागेको सर्ट १ थान र सुजन र शिशिरले हानेको ढुङ्गा ३ थान बरामद गरेको छ ।

Post a Comment

 
Top