कार्तिक २४ –प्रधानमन्त्री सुशील कोइरालाले आगामी माघ ८ गतेभित्र नयाँ संविधान बन्ने यात्रालाई कसैले रोक्न नसक्ने बताउनुभएको छ । संविधान निमार्णको यात्रालाई कसैले रोक्छु भन्नु सूर्यलाई हत्केलाले छेक्छु भन्ने सरह हुने उहाँको भनाई छ । सर्वमान्य नेता गणेशमान सिंहको जन्म शताब्दीका अवसरमा आज शान्तिवाटिकामा आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालाले अब मुलुकमा कसैको डर, धम्की र जोरजबर्जस्ती तथा बन्दुकको राजनीतिक नचल्ने भन्दै संविधान निर्माणको यात्रा पूरा भएरै छाड्ने अठोट व्यक्त गर्नुभयो ।

त्यस प्रकारको दृढता र प्रतिबद्धता सर्वाेच्च नेता गणेशमानले दिएको संझना गर्दै प्रधानमन्त्री कोईरालाले प्रजातन्त्रका मूल्य, मान्यता र आदर्शबाट विचलित नभई नेपालीको शिर माथि उठाउने यात्रामा अघि बढिरहनुपर्नेमा जोड दिनुभयो । उहाँले आफूले हिजोमात्रै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग कुराकानी गरेको सुनाउँदै तर्साउने र धम्काउने प्रकारका अभिव्यक्ति नदिन आग्रह गरेको जानकारी दिनुभयो ।

Post a Comment

 
Top