कात्र्तिक ५ –संविधानका विवादित विषयमा सहमति जुटाउन भन्दै प्रमुख तीन दलका शीर्ष नेताहरुको गोकर्ण रिसोर्टमा बसेको बैठक बिनानिष्कर्ष सकिएको छ । बैठकबारे कुनैपनि नेताहरुले प्रतिक्रिया दिएका छैन । यद्यपि ९ गते पुनः बैठक बस्ने गरी आजको बैठक सकाएको जनाइएको छ । बैठकमा कांग्रेस एमाले एकातिर, एकीकृत माओवादी अर्कोतिर भएपछि निष्कर्ष ननिस्किएको बताइएको छ । बैठकमा संबिधानका मुख्य बिबादीत विषय राज्यको पुर्नसंरचना, शासकीयस्वरुप र न्याय, निर्वाचन प्रणालीको विषयमा छलफल भएको थियो ।
बैठकमा कांग्रेसको तर्फबाट वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए । एमालेबाट अध्यक्ष केपी ओली, नेता माधव नेपाल र महासचिव ईश्वर पोखरेल र एकीकृत माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ सहभागी हुनुभयो । संबिधानसभाले संवाद समितिलाई कार्तिक १५ गतेभित्र संबिधानको विवादित बिषयमा सहमति जुटाउन भन्दै तेस्रोपटक समय दिएको छ । १५ गतेसम्ममा सहमति नभए प्रश्नावलीसहितको प्रतिवेदन १६ गते बुझाउन सभाले समितिलाई निर्देशन दिएको छ ।

तीन दलका शीर्ष नेताहरुको बैठक परिसरमा नेपाल आदिवासी जनजाति महासंघले धर्ना दिएको छ ।
पहिचानसहितको संघीयताका लागि र विगतमा जनजातिहरुसँग भएको सहमति कार्यान्वयनको माग राख्दै महासंघले दिउँसो २ बजेदेखि एक घण्टा धर्ना दिएको अध्यक्ष नगेन्द्र कुमालले जानकारी दिनुभयो ।
धर्ना कार्यक्रममा महासंघ सम्बद्ध विभिन्न जातीय संगठनका प्रतिनिधिलगायत सहभागि थिए ।

Post a Comment

 
Top