गोरखा, भाद्र २५ –केही समय अघिदेखि श्रृखलाबद्ध रुपमा जिल्ला सदरमुकाम गोरखाको बिभिन्न स्थानबाट भएको नगद तथा सुनचोरीको अभियोगमा पक्राउ परेका दुई जनालाई आज जिल्ला प्रहरी कार्यालय गोरखाले सार्वजनिक गरेको छ ।
प्रहरीले पत्रकार सम्मेलन गरेर चितुवन मोघौली ३ घरभई तनहुँ आबुखैरेनी ३ बस्ने २८ बर्षिया रमेश श्रेष्ठ, भारत मोतीहारी घर भई आँबुखैरेनी ६ डेरा गरि बस्ने १७ बर्षका शेख हसनलाई पक्राउ गरि सार्वजनिक गरेको हो । त्यस्तै प्रहरीले चोरीको सुृन खरिद गरेको अभियोगमा आबुखैरेनी गा.वि.सका गौतम सुनचाँदी पसलका सञ्चालक टेक बहादुर सुनारलाई समेत पक्राउ गरेको छ ।
उनिहरुको साथबाट गलाएको सुनको टुक्रा ९.९लाल, सुनको मुन्द्री २ थान, ढोकाको फलामको रड ३ थान, तरवार १ थान, दाउ १ थान, हतौडी २ थान, पेन्चीस १ थान, स्लाइड रेन्ची , र मोवाइल ३ थान बरामत गरिएको जिल्ला प्रहरी प्रमुख रमेश थापाले जानकारी दिनुभयो ।
 गत जेठ ७ गते गोरखा नगरपालिका ३ पाटेचौरका काजीराम श्रेष्ठको घरबाट करिब ६ तोला, साउन १९ गते एमाले पार्टी कार्यालयबाट नगद ७ सय, २० गते गोरखा नगरपालिका ६ स्थित रामहरी के.सीको घरबाट सुनको तिलहरी र नगद ११ हजार तथा भदौ ११ गते हरमटारी स्थित रेडक्रस सोसाइटीबाट नगद रु १६ हजार चोरी भएको थियो । उनिहरुले रात र दिनका एकान्त समयमा घरको ताल्चा फुटाएर सुन र नगद मात्र चोर्ने गरेको प्रहरीको भनाई छ ।
जिल्लामा चोरीको घटना बढ्न थालेपछि प्रहरी सादा पोशाकका प्रहरी परिचालन गरि चोरी गर्नेहरुको खोजीकार्य तिव्र पारेको थियो । उनिहरुले कवाडी सामान उठाउने बाहानामा घरघरमा डुली एकान्तघरमा ताल्चा फोडी चोरी गर्ने गरको प्रहरीको भनाई छ । 

Post a Comment

 
Top