गोरखा, भाद्र २५ –जिल्लामा सञ्चालित विभिन्न विकास निर्माणका कार्यहरुमा आर्थिक अनियमितता भएको, पारदर्शी नभएको, निर्माण भएका संरचना गुणस्तरीय नभएको, बजेटहरु सन्तुलित रुपमा वितरण नभएको जस्ता विभिन्न आलोचनाहरु खेप्दै आएको गोरखा नगरपालिकाले बजारको फुटपाथ व्यवस्थापनबाट भने प्रशंसा कमाएको छ । नमुना फुटपाथ बनेको भन्दै सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाको प्रशंसा भएको छ । फुटपाथ निर्माणको सन्दर्भमा काहुराष्ट्र गोरखाले सार्वजनिक सुनुवाई गरेको छ ।

गोरखा नगरपालिका ३ बिशौनी मोड देखी जिविस चोक सम्मको फुटपाथ तथा नाली निर्माणको काम अहिले लगभग सकिएको छ । नगरपालिकाको जगेडा कोषको ६०, ४० को अवधारणामा कुल ३९ लाख १७ हजार ६० रुपैयामा फुटपाथ निर्माण भएको हो । फुटपाथ निर्माणको लागि गोरखा नगरपालिकाको जगेडा कोषबाट २३ लाख १७ हजार ६० रुपैया भुक्तानी भएको थियो भने स्थानिय उपभोक्ताबाट १६ लाख चन्दा संकलन गरिएको थियो ।
नगरपालिकाको २ सय ५० मिटर मात्र फुटपाथ निर्माण गर्ने स्टमेट भएपनि फुटपाथ तथा नाला निर्माण उपभोक्ता समितिले ३ सय १० मिटर लामो फुटपाथ निर्माण गरेको छ । तर गोरखाका सडकहरुमा भने १५ मिटर लागु गर्ने कि २५ मिटर लागु गर्ने भन्ने विषय भने टुङ्गो लागेको छैन ।
उपभोक्ता समितिका अध्यक्ष टेकमान श्रेष्ठले स्थानिय उपभोक्ताहरुको सक्रियताले नगरपालिकाको काम सफल भएको बताए ।
गोरखा नगरपालिकाको प्रतिनिधि रामकुमार श्रेष्ठले फुटपाथमा व्यवसायीहरुले सामान राख्न नपाउने र फुटपाथको दुरुपयोग गरे कारवाही गर्ने पनि बताएका छन् ।
फुटपाथ निर्माण भएपछि यात्रा गर्न सहज भएको सर्वसाधरणहरुले बताएका छन् ।
क्रसर उद्योगीहरुको आन्दोलनका कारण गिट्टि, बालुवा, ढुङ्गा लगायतका निर्माण सामग्रीहरु समयमै उपलव्ध नभएको कारण निर्धारित समय भन्दा १ महिना ढिलो फुटपाथ निर्माण कार्य सम्पन्न भएको फुटपाथ निर्माण उपभोक्ता समितिले जनाएको छ ।
विकाश निर्माणको पारदर्शीता, गुणस्तर लगायतका जनसरोकारका विषयमा मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान काहुराष्ट्र नेपालले गोरखामा विविध कार्यहरु गर्दै आएको छ । काहुराष्ट्र गोरखाले जिल्लाको खोप्लाङ, घ्याल्चोक, फिनाम, गोरखा नगरपालिका लगायत विभिन्न स्थानहरुमा  जनसरोकारका कार्यहरु गर्दै आएको छ ।
आज भएको सार्वजनिक सुनुवाई कार्यक्रममा फुटपाथ तथा नाला निर्माण उपभोक्ता समुहका अध्यक्ष टेकमान श्रेष्ठको सभापतित्व र गोरखा प्रधान न्यायाधिस प्रकाश कुमार काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो ।

Post a Comment

 
Top