सरकारले पुँजीबजारमा आएको हालैको परिवर्तनबाट हतोत्साही नहुन लगानीकर्तालाई आग्रह गरेको छ । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार  चिरञ्जीवी नेपालले आज नेपाल स्टक एक्सचेन्जको अवलोकनपछि आयोजित कार्यक्रममा लगानी प्रवृत्ति र आर्थिक सूचकाङ्कका आधारमा पुँजीबजार घट्नुपर्ने कुनै पनि कारण नभएको बताउनुभयो । उहाँले हल्लाका भरमा बजार घटिरहेको हुँदा आमलगानीकर्ताले वास्तविक विश्लेषण गरेर मात्र लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
सरकार लगानीकर्तालाई पूर्ण विश्वास दिलाएर अघि बढ्न चाहेको भन्दै उहाँले सोहीअनुसार नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले लगानीकर्ताको सुरक्षा गर्नुपर्ने बताउनुभयो ।
धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले नियमनकारी निकायले धितोपत्र बोर्डसँग सहकार्य गरेर पुँजीबजारसम्बन्धी नीति ल्याउनुपर्ने बताउनुभयो । नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक सीताराम थपलियाले लगानीकर्ताको मनोबल घटेकाले मात्र बजारमा नकारात्मक प्रभाव परेको उल्लेख गर्नुभयो ।

Post a Comment

 
Top