असोज ११ –दक्षिण कोरियाको इन्चोनमा जारी एसियाडअन्र्तगत् पुरुष क्रिकेटमा नेपालले शानदार सुरुआत गरेको छ ।  कुवेतले दिएको २१ रनको झिनो लक्ष्य नेपालले १ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा सागर पुनले ९ रन र सुवास खकुरेल, विनोद भण्डारी दुबैले अविजित क्रमस ७ र ५ रन बनाउनुभयो ।  यसअघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १३ दशमलव २ ओभरमा सम्पूर्ण विकेट गुमाउदै २० रनमै समेटिएको थियो । नेपालका सोमपाल कामी र बसन्त रेग्मीले समान ३÷ ३ विकेट लिए । सुरुआतदेखि नै धरमराएको कुवेती इनिङ ध्वस्त पार्नेक्रममा  सागर पुनले २ विकेट झार्नुभयो  । कुवेतका २ खेलाडी एलबीडब्लुको धरापमा परे ।

कुवेतका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । ५ खेलाडी शून्य रनमै पवेलियन फकिर्एका थिए । ट्वेन्टी–२० खेलमा कुवेतले ७ रन अतिरिक्त रनका रुपमा पाएको थियो । नेपालको अर्को खेल मलेसियासग हुनेछ । ड्रागन एअरको विमान बिग्रिएर काठमाडौंमा थन्किदा खेलाडीहरुले दुःख पाउदै अर्को जहाजमा बल्ल आज बिहान इन्चोन पुगेका थिए ।

नेपालस्थित खेल सम्बन्धित निकायले चासो नदिदा खेलाडीहरु समयमै पुग्न नसकेका हुन् । बंगलादेशमा सम्पन्न विश्वकपको सहभागी टिम नेपाललाई पदकको दावेदार टिमका रुपमा हेरिएको छ । टेबल टेनिसको पुरुष टिमका खेलाडीहरु समयमै नपुग्दा आयोजकले अयोग्य घोषित गरेको छ । अम्पायर टिमका एक प्रतिनिधिसग जहाजका कारण खेलाडीहरु समयमा आउन नसकेको जानकारी गराउदा ‘जुरी’सग कुरा गरी अर्को खेलमा खेल्न दिने या खेल्ने कार्यक्रम थियो ।
यता, महिला टिमले भने पहिलो खेलमा चीनसग पराजय भोगेको छ । इन्चन भिलेजबाट सीधै सुवनस्थित टेबल टेनिस कोर्टमा पुगेको नेपाली टिमले चीनसग ३–० को हार बेहोरेको हो । थकित मुद्रामा देखिएको नेपाली टिमले दोश्रो  खेलमा भारतसग खेल्दैछ । यात्रा तनावका कारण बिना व्यवस्थापक र प्रशिक्षक खेलाडीहरु खेल्न उत्रिएका हुन् ।
बक्सिङमा आज नेपालले तीन स्पर्धामा प्रतिस्पर्धा गर्दैछ । प्रिक्वार्टरफाइनलमा महिला फ्लाइ ५१ केजीमुनि समूहमा मिनु गुरुङले मंगोलियन खेलाडीसग, पुरुष फ्लाई ५२ केजी समूहमा प्रेम चौधरीले भारतीय खेलाडीसग तथा पुरुक्ष वेल्टर ६९ केजी तौल समूहमा दिपेश लामाले उज्वेकिस्तानका खेलाडीसग खेल्दैछन् । महिला बास्केटबलमा नेपालले अन्तिम खेलमा आज बलियो प्रतिद्वन्द्वी मंगोलियासग खेल्दैछ । यता, गल्फमा दिनेश प्रजापति, तासि छिरिङ, विष्णुप्रसाद शर्मा र ताराबहादुर कार्कीले तेस्रो दिन पुरुष एकल र टिमतर्फ खेलिरहेका छन् । हालसम्म सबैले औसत प्रदर्शन गरेका छन् ।

Post a Comment

 
Top