गोरखा, भाद्र २३ –केही समयअघि समानान्तर जिल्ला कमिटी गठन गरेको एमाओवादी नेता बाबुराम भट्टराईको गृह जिल्ला गोरखाका कार्यकर्ताले छुट्टै पार्टी कार्यालय पनि सञ्चालनमा ल्याएका छन् । आफूलाई संस्थापन एमाओवादी दाबी गर्दै भट्टराई विचार समूहले हरमटारीस्थित जिविसचोक अगाडि पार्टी कार्यालय सञ्चालनमा ल्याएका हुन् ।
प्रचण्ड विचार समूहका जिल्लास्तरीय नेताले आफूहरुलाई निषेधको राजनीति गरेकाले बाध्य भएर समानान्तर जिल्ला कमिटी गठन गरेको बताउँदै आएको भट्टराई विचार समूहले आजदेखि विधिवत् रुपमा पार्टी कार्यालय सञ्चालनमा ल्याएको जनाएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता बाबुराम भट्टराईबीच बढेको वैचारिक मतभेद अन्त्य गर्ने सहमति भए पनि गोरखामा भने दुई पक्षबीच गहिरो मतभेद छ । केन्द्रमा पार्टी नफुटे पनि भट्टराईकै गृह जिल्ला गोरखामा भने छुट्टाछुट्टै पार्टी कार्यालय सञ्चालनमा आएको छ ।
नेता भट्टराईले संविधानसभा निर्वाचनमा गोरखा क्षेत्र नं १ बाट विजयी हासिल गरेपछि संविधानसभा सदस्यको कार्यालयको नामले छुट्टै कार्यालय सञ्चालनमा थियो ।

Post a Comment

 
Top