गोरखा श्रावण ३० –एकीकृत ने.क.पा.माओवादी गोरखाले समानान्तर समितिको भ्रममा नपर्न पार्टीका कार्यकर्ता, शुभचिन्तक तथा सर्वसाधारणसँग आह्वान गरेको छ । एमाओवादी गोरखाका अध्यक्ष लेख बहादुर थापा ‘जीवन्त’ले आज एक प्रेस विज्ञप्ति जारी गरी एमाओवादी गोरखाको पाँचौ जिल्ला सम्मेलन तथा केन्द्रीय कमिटीको बैठकको निर्णयको विरुद्ध नेता डा.बाबुराम भट्टराई र उनका पक्षधरले लिएको कदमको विरोध गरेको छ । २०७१ बैशाख १५ र १६ मा सम्पन्न सम्मेलनबाट निर्वाचित ३८ जनाको जिल्ला समिति, प्रथम राष्ट्रिय सम्मेलनको लागि चयन भएको २२ जना प्रतिनिधिमा नेता डा.बाबुराम भट्टराईको समर्थन भए पनि हाल उहाँले यानप्रसाद भट्ट नेतृत्वको समितिलाई वैधानिकता दिनु दुःखद भएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पार्टीले निर्वाचित आधिकारिक पार्टीलाई खबर नगरी समानान्तर कमिटीले विभिन्न भेला तथा प्रशिक्षण कार्यक्रम राखेकोमा आपत्ती प्रकट गर्दै यसप्रकारको पार्टी फुटाउने हरकत नगर्न अनुरोध गरेको छ । समानान्तर समितिले साउन १० गते यानप्रसाद भट्टको नेतृत्वमा समानान्तर समिति बनाएको, साउन २४ गते स्थायी समिति सदस्य देवेन्द्र पौडेल ‘सुनिल’ र केन्द्रीय सदस्य कृष्ण शर्मा ‘निडर’ ले छुट्टै प्रशिक्षण दिएको र साउन २९ गते डा.बाबुराम भट्टराईले समानान्तर समितिको भंग गर्ने सहमतिको विरुद्ध पत्रकार सम्मेलन गरी देशैभर समानान्तर समिति बनाउने चेतावनी अत्यन्त गम्भीर भएकोमा  ध्यानाकर्षण गरेको छ ।
शान्ति प्रक्रियाको स्थितिमा देशले जनपक्षीय नयाँ संविधान पाउन झनै पार्टी एकताबद्ध भई अगाडि बढ्न आवश्यक छ । बाम तथा माओवादी शक्ति एवम् पहिचान सहित संघीयताको पक्षधर शक्तिसँग कार्यगत एकता गर्दै सदन र सडकबाट जनसंविधान निर्माणमा संघर्ष गर्नुपर्ने परिस्थितिमा दुस्मन हँसाउने खेलमा नलाग्न एकीकृत र केन्द्रीकृत भई पार्टी, क्रान्ति, देश र जनताको सेवा गर्न आम पार्टी पंक्ति, जनसमुदायहरुमा अविचलित रुपमा सहिद तथा बेपत्ताको सपना साकार पार्न प्रतिबद्ध हुन समेत विज्ञप्तिमार्फत आह्वान गरेको छ ।

Post a Comment

 
Top