श्रावण १५ –  कास्कीको भरतपोखरी गाउँ विकास समितिले बार्षिक प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई गरेको छ । गाविसले गत आर्थिक बर्ष २०७०÷७१ मा सम्पादन गरेका योजनाहरु र सेवा प्रवाहका बारेमा समिक्षा गरिएको छ । कार्यक्रममा गाविसका सेवाग्राही नागरिकले गाविसमा २ वटा कार्यालय संचालन हुँदा सेवा लिन समस्या भएको गुनासो गरेका छन् । भरतपोखरी गाविसले बिगत केही बर्षयता २ ठाउँबाट कार्यालय संचालन गर्दै आएको छ । योसँगै अनुगमन समिति सक्रिय नरहेको, गाविसमा हुने निर्णयमा वडा नागरिक मञ्चलाई संलग्न नगराएको, घाट सञ्चालन गरेबापत स्थानीयहरुले पाउनुपर्ने अनुदान रकम पाउन नसकेको लगाएतका गुनासो गरेका छन् । उनीहरुले जिल्ला विकास समितिले घाट सञ्चालन गरेबापत प्राप्त हुने रकमबाट कम्तीमा ५० प्रतिशत गाविस र सम्बन्धीत क्षेत्रलाई उपलब्ध गराउनुपर्ने माग समेत गरेका छन् । जवाफमा गाविस सचिव बिष्णु पौडेलले २ ठाउँबाट गाविस कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता भएकाले उपभोक्तालाई सहज हुने ढंगबाट घुम्ती सेवा सुरु गर्ने बताउनुभएको छ । सकेसम्म एउटै कार्यालयबाट सेवा दिने व्यवस्था मिलाउने र त्यसो हुन नसकेपनि घुम्ती सेवा भने तत्कालै सुरु गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । यस्तै प्रभावकारी रुपमा योजना संचालन गर्नका लागि पनि अनुगमन समितिलाई सक्रिय बनाउने र अनुगमन समितिको रिपोर्ट आएपछि मात्रै अन्तिम किस्ता भुक्तानी दिने व्यवस्था मिलाउने पौडेलको भनाई छ । वडा नागरिक मञ्चको सहभागिताका लागि भने बाध्यता नहुने भएपनि सजिलोका लागि सहकार्य गर्ने, गाविसको आय व्यय विवरण सूचना पार्टीमा टाँस गर्ने र चुस्त दुरुस्त सेवा प्रदान गर्ने तथा सुधारात्मक सेवा उपलब्ध गराउने उहाँले बताउनुभयो । रेडियो तरङ्गको ब्यवस्थापन र भरतपोखरी गाउँ विकास समितिको आयोजनामा कार्यक्रम भएको हो । रेडियो तरङ्गका प्रबन्ध निर्देशक हिमनिधि लौडारीले सहजिकरण गर्नुभएको कार्यक्रममा गाविसले उपभोक्ता समितिलाई पेश्की नदिँदा योजना सञ्चालन गर्न समस्या भएको, नलगेको बजेट पनि खर्च कितावमा उल्लेख गरेको, विल भरपाई समयमै उपलब्ध गराउँदा पनि पेश्की फस्र्यौट नभएको, कृषि क्षेत्रमा गाविसको चासो नपुगेको, गैर सरकारी संस्थासँग सहकार्य गरिएका कार्यक्रम प्रभावकारी नभएको लगाएतका प्रश्न उठाएका थिए । गाविस सचिव बिष्णु पौडेलले भने गाविसले सञ्चालन गरेका योजनाहरुमा पहिलो किस्ता रकम दिदाँ कुनै समस्या नहुने भएकाले आगामी दिनमा पेश्की दिने ब्यवस्था मिलाउने र गाविसले गरेका कमजोरीहरु सुधारेर लैजाने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुले पनि गाविसका कमजोरी सुधार गर्नका लागि सहयोग गर्ने बताएका छन् ।

Post a Comment

 
Top