गोरखा श्रावण १५ – गैरसरकारी संस्था महासंघले सस्थासंग सम्बन्धित कानुनी ब्यवस्थाहरुमा सुधारका लागि आज गोरखा सदरमुकाममा जिल्ला स्तरिय छलफल कार्यक्रम सम्पन्न गरेको छ । गैरसरकारी संस्था महासंघ गोरखाका अध्यक्ष काजीराम रोकाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि गैर सरकारी संस्था महासंघ पश्चिमाञ्चलका क्षेत्रिय सदस्य पबन रमण खनालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सस्थाको भुमिका, उद्देश्य, मस्यौदा तथा सुझाव पत्र लगायत गैरसरकारी संस्थाका समस्या र समाधानका बिषयमा छलफल भएको थियो । त्यस्तै गरी गैरसरकारी संस्थाको समस्याहरु अन्तर्गत संस्थाको परिभाषामा एकरुपता नभएको, संस्थालाई हेर्ने मन्त्रालयको किटानी हुन नसकेको, संघ संस्थाका नवीकरणमा जिविस तथा जिप्रकाले अनावश्यक झञ्झट दिने गरेको आदि विषयमा छलफल भएको थियो ।
छलफलमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु राष्ट्रिय रुपमा दर्ता हुने गरेकोमा रोक्नुपर्ने माग गरिएको थियो । संस्थाहरुको वजेटको आधारमा वर्गीकरण हुन नसकेको, गैससहरु समाजको दायरामा आउन नसकेको, राजनीतिकरणबाट मुक्त हुन नसकेको, सरकारी कर्मचारीहरु नै गैरसरकारी संस्थामा बसेर नियमविपरीत संस्था सञ्चालन गरेको विषयमा समेत छलफल गरिएको थियो । कार्यक्रममा गैरसरकारी संस्थाका कार्यहरुको विषयमा मस्यौदा तयार गरेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइने अध्यक्ष रोकाले बताउनु भएको छ । कार्यक्रम स्वीस विकास नियोगको सहयोग तथा गैसस महासंघ नेपाल जिल्ला शाखा गोरखाको आयोजनामा सम्पन्न भएको थियो ।

Post a Comment

 
Top