गोरखा, श्रावण ४
नेपाल खाद्य संस्थान, गोरखा शाखाले आर्थिक वर्ष २०७०÷७१मा  उत्तरी गोरखाका ११ गाविसमा  ४ हजार ५ सय ९४ क्विन्टल चामल ढुवानी गरेको छ ।
उत्तरी गोरखाका सिर्दीवास र माछाखोला डिपोबाट सो परिमाणको चामल ढुवानी गरेको बताउदै संस्थानको गोरखा शाखाकार्यालय शाखा प्रमुख अम्बिका घिमिरेले चामल ढुवानीको लागि १ करोड १ लाख ७८ हजार ५ सय ३४ रुपैया लागत लागेको बताउनुभयो । सरकारले चामल ढुवानीको लागि अनुदान दिदै आएको छ ।
संस्थानले माछाखोला डिपो बाट २ हजार ३ सय ९८ र सिर्दीवास डिपोबाट २ हजार १ सय ९६ क्विन्टल चामल ढुवानी गरेको शाखा प्रमुख घिमिरेले जानकारी गराउनुभयो ।
संस्थानले माछाखोलामा प्रति केजी ४० रुपैया र सिर्दीवासमा प्रतिकेजी ४३ रुपैयाको दरले बिक्री गर्दै आएको छ । माछाखोला डिपोबाट गुम्दा, लाप्राक, लापु, काशीगाउँ, उहिया, केरौंजा गाविसलाई चामल वितरण हुदै आएको छ भने सिर्दीवास डिपोबाट चुम्चेत, छेकम्पार, प्रोक, ल्हो, सामागाऊ, विही र सिर्दीवास गाविसलाई चामल वितरण गर्दै आएको छ ।
स्थानीय बासिन्दाको माग करिब १० हजार क्विन्टल  भएको भए पनि माग अनुसार ढुवानी गर्न नसकिएको शाखा प्रमुख घिमिरेले बताउनुभयो ।
स्थानीय बासिन्दाले आफ्नो माग अनुसारको चामल सरकारले ढुवानी नगरेकोमा गुनासो गरेका छन् ।
संस्थानले आपतकालिन अवस्थाको लागि सिर्दीवासमा २६ क्विन्टल र माछाखोलामा ७० क्विन्टल चामल भण्डारण गरी राखेको छ ।

Post a Comment

 
Top