२०७१ फाल्गुन १० आईतवार  बारा स् मालपोत र नापी कार्यलयको सेवा केन्द्र स्थापना गर्ने निर्णय कार्यान्वय गर्न माग गर्दै आन्दोलनरत स्थानीय र प्रहरीबीच सिमरामा झडप भएको छ । सेवा केन्द्र स्थापना गर्न माग राख्दै आठ दिनदेखि आन्दोलित स्थानीय र प्रहरीबीचको झडपले सिमरा चोक रणभूमिममा परिणत भएको थियो ।

राजमार्गमा प्रदर्शनमा उत्रिएका बन्दकर्तालाई प्रहरीले हटाउन खोजेपछि झडप सुरु भएको हो । झडपका कारण सिमराक्षेत्र बिहानैदेखि तनावग्रस्त बनेको छ । सिमरा बजार पूर्णरुपमा बन्द छ भने यातायात आवागमन ठप्प छ ।
झडपमा २४ जना जनाबढी बन्दकर्ता घाईते भएका छन् । घाइते हुनेमा नसिम हुसेन, ईश्वर थपलिया, शिला खनाल र उद्धव गौतमलगायत छन् । घाईतेमध्ये गम्भीर हुसेनलाई उपचारका लागि वीरगन्ज लगिएको छ ।

बन्दकर्ताले प्रहार गरेको ढुंगा लागेर ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक कुमारबिक्रम थापासहित पाँच प्रहरी घाइते भएको बाराका प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले जानकारी दिए ।

बन्कर्ताले एम्बुलेन्समा बियरको  बोत्तल र ढुंगा प्रहार गरेका थिए । रौतहटबाट बिरामी लिएर वीरगन्ज जाँदै गरेको एम्बुलेन्समाथि बन्दकर्ताले ढुंगा प्रहार गरेका छन् ।

ढुंगाले लागेर एम्बुलेन्समा रौतहट खतरैया ८ का ७० वर्षीय बिन्दाराम राय यादव र उनका ३६ वर्षीय छोरा राजकुमार यादव घाईते भएका छन् । उनिहरुको पनि वीरगन्जमा उपचार भईरहेको छ ।
स्थिती नियन्त्रणमा लिन प्रहरीले सय सेलभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो । बन्दकर्ताले सडक नछाडेपछि प्रहरीले रबरको गोली प्रहार गरेको छ ।

गोली लागेर थुप्रै बन्दकर्ता घाईते भएका छन् । उनीहरुको स्थानिय स्वास्थ्य क्लिनिकमा उपचार भईरहेको छ ।

आक्रोशित बन्दकर्ताले सिमरा चोकमा रहेको प्रहरी बिट र ट्राफिक प्रहरीको पोष्ट जलाएका छन् । प्रहरीले शान्तिपूर्ण आन्दोलनलाई दमन गरेको भन्दै स्थानीयले प्रहरीमाथि ढुुंगा हानेका थिए ।
प्रहरीले घरभित्र पसेर स्थानीयमाथि लाठी प्रहार गरेको थियो । बन्दकर्ताले ढुंगा प्रहार गरेपछि आक्रोशित भएका प्रहरीले घरमा बसेका स्थानियलाई लक्षित गर्दै अश्रुग्यास प्रहार गरेको बन्दकर्ता धनबहादुर श्रेष्ठले बताए ।

दोहोरो ढुंगा हानाहानमा बजारका घरका सिसाहरु समेत फुटेको छ । प्रहरीले प्रदर्शनमा उत्रिएका सुमनकुमार भट्टराई, मिनप्रसाद आपागाई, जगन्नाथ घिमिरे, दिवाकर न्यौपाने, गंगा बस्नेत र रमेश चौहानलाई नियन्त्रणमा लिएको छ ।  प्रहरीद्धारा पक्राउ परेकाको रिहाई गर्न समेत बन्दकर्ताले माग गरेका छन् ।

Post a Comment

 
Top