पर्सा,मंसिर १६ – वीरगञ्ज– ५ स्थित सुन्दरमल रामकुमार कन्या उच्च माबिको उत्तर पूर्व तर्फको भत्किएको सडक बनाउन स्थानीयले माग गरेको बर्षौ बित्यो । सिमेन्ट ढलान गरिएको सडकमा ठूला ठूला खाल्डाले बटुवा र सवारी चालकलाई सास्ती हुन्थ्यो । उपमहानगरपालिकाको कार्यालयलाई उनीहरुले पटक पटक गुहारे । कतिपयले सामाजिक सन्जाल फेसबुकमा भत्केको सडकको तस्विर सहितको पीडा पोखे । तर कार्यालयले कसैको गुहार सुनेन । वर्षेनी असार मसान्तमा सडक टालटुल पारिन्थ्यो, वर्षा नसकुन्जेल सडक फेरी जस्ताको उस्तै । तर यस साता अचानक सडक कालोपत्रे गर्न थालिएको छ । यस पटक बिना दबाब र अनुनय बिनय द्रुत गतिमा सडकको स्तरोन्नती भएको देख्दा स्थानीयबासिन्दा चकित भएका छन् ।
विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्न बुधबार राष्ट्रपति रामवरण यादव आउने भएकाले उमनपाको कार्यालयले हतारमा सडकको स्तरोन्नती गरी रहेको छ । विद्यालयको उत्तर तर्फको सडक कालोपत्रे भइसकेको छ भने पूर्व तर्फको कालोपत्रे गर्ने काम जारी छ । ‘राष्ट्रपति आउने भएपछि हतार हतारमा सडक कालोपत्रे गरिदैं रहेछ,’ स्थानीय रजनीश सोनीले भने,‘हामीले जति भन्दा पनि सुनुवाई हुन्थेन, अहिले उमनपाको कार्यालयले आफैं सडक कालोपत्रे गर्न तदारुकता देखाउदा आश्चर्य लागेको छ, उपमहानगरवासीले विकास पाउन पनि अति विशिष्ट व्यक्तिहरुको आगमन कुर्नु पर्ने रहेछ ।’आजको कान्तिपुर दैनिकमा खबर छ ।
Post a Comment