कात्र्तिक ३ –अनुशासनको कारवाही सिफारिसमा परेकी कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालासहित पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाको कार्यशैलीसँग असन्तुष्ट संस्थापन पक्षकै नेताहरुले महासमिति बैठक बोलाउन हस्ताक्षर अभियान चलाउने भएका छन् । पार्टी संस्थागत ढंगले चल्न छाडेको, गिरिजाप्रसाद कोइरालाका अनुयायीहरुलाई छानी छानी सिध्याउन लागिएको र प्रधानमन्त्री कोइरालाले सरकार सञ्चालन गर्न नसकेको भन्दै आवश्यक छलफल गर्न महासमिति बैठक माग गर्न लागिएको हो ।

कांग्रेस विधानमा महाधिवेशनपछिको सबैभन्दा शक्तिशाली निकाय महासमिति मानिन्छ । विधानअनुसार प्रत्येक वर्ष महासमिति बैठक बोलाउनुपर्ने भए पनि चार वर्षमा एकपटक मात्र महासमिति बैठक बसेको थियो । कांग्रेस केन्द्रीय सदस्य तथा सभासद सुजाता कोइरालाले महासमिति बैठक बस्नु आवश्यक रहे पनि आफूले अहिलेसम्म बैठक बोलाउनका लागि हस्ताक्षर संकलन भने गरी नसकेको बताउनुभयो । उहाले साथीहरुले महासमिति बैठक केन्द्रीय कार्य समितिले बोलाउँदैन भने विधानअनुसार बोलाउन माग गर्न लागेको जानकारी दिनुभयो ।
स्रोतका अनुसार कोइरालानिकट नेताहरुले तिहारलगत्तै महासमिति बैठक बोलाउन माग गर्दै महासमिति सदस्यहरुको हस्ताक्षर संकलन गर्ने भएका छन् । कांग्रेस विधानअनुसार महासमितिका ४० प्रतिशत सदस्यहरुले कारण खोली बैठक बोलाउन केन्द्रसमक्ष लिखित अनुरोध गरेमा अनुरोध प्राप्त भएको तीन महिनाभित्र महासमितिको विशेष बोलाउनुपर्ने व्यवस्था छ ।

तर, यसबीचमा सुजाता कोइराला निवास मण्डिखाटारमा बसेको संस्थापन पक्षका असन्तुष्ट नेताहरुको बैठकले सुशील कोइराला पार्टी र सरकार सञ्चालनमा असफल भएको ठहर गरेको एक सभासदले बताएका छन् । भेलाले पार्टीमा देउवा पक्ष तथा सरकारमा एमाले हाबी भएको निष्कर्ष निकाल्दै महासमिति विशेष बैठक बोलाउन अभियान चलाउने निर्णय गरेको थियो ।

Post a Comment

 
Top