गोरखा, कात्र्तिक १ – जिल्ला प्रहरी कार्यालय गोरखाले गोरखामा चल्ने सवारी साधनमा सिट संख्या भन्दा बढी यात्रु नराख्न बसमा सिट संख्या तोकेरै निगरानी राख्न थालेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले आज गोरखा बसपार्कमा एक कार्यक्रम गरी कुन बसमा कति सिट क्षमता हो भन्ने कुरा सबैले देख्ने गरी टाँस गर्न सिकाएको थियो ।  प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बसपार्कमा भएका बस तथा माईक्रोबसमा प्रमुख जिल्ला अधिकारी खरेलले सिट संख्या सहितको स्टीकर गाडिमा टाँस गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सवारी दुर्घटना न्युनिकरण गर्न गोरखामा प्रहरी  सक्रिय रहँदै आएको छ ।
प्रहरीले निगरानी राख्दै राख्दै पनि बस चालक तथा मालिकका कमजोरीका कारण, समयमा नै मर्मत हुन नसकेको सवारी, गाडिको सिट क्षमता भन्दा बढी यात्रु राख्ने चलनले गर्दा दुर्घटना सोचे जसरी न्युनिकरण हुन सकिरहेको छैन । आज भएको कार्यक्रममा पृथ्वीराजमार्ग वस व्यावसायी समिति तथा यातायात व्यावसायी समिति गोरखाका प्रमुख तथा प्रतिनिधीहरुले सिट क्षमता भन्दा बढी यात्रु कुनै पनि बसमा नराख्ने प्रतिवद्धता गरेका छन् । गोरखामा यी दुई समितिका सवारी साधन सञ्चालनमा आएका छन् । 
सवारी पुर्जा अर्थात विलबुकमा सवारीमा रहेको सिट क्षमता सहित उल्लेख गरिएको हुन्छ । तर छिटो धन कमाउने लोभमा जोखिम मोलेर गोरखाका कच्ची तथा पक्की सडकमा सवारीहरु गुडिरहेका छन् । सिट क्षमता भन्दा  बढी यात्रु गाडिमा राख्छन् राख्दैनन् त्यो आगमि दिनमा देखिने सरोकारवालाहरुले बताएका छन् । सिट संख्या भन्दा बढी यात्रु राख्ने  सवारीलाई कारवाही गर्ने प्रहरी सहायक निरीक्षक प्रविण आचार्य बताउँछन् । यस अघि सवारीमा थप सिट  राख्ने, उल्टो सिट राख्ने, मुढा राख्ने चलन र यात्रुलाई कष्टकर यात्रा गराउन बाध्य पार्ने सवारीलाई कारवाहीको थालनी गरिएपनि पूर्ण रुपमा नियन्त्रणमा आउन भने अझै सकेको छ्रैन । कार्यक्रमका प्रमुख अतिथि वेद प्रसाद खरेलले जोखिम सहेर यात्रा नगराउन व्यावसायीहरुलाई आग्रह गरेका छन् । छिटो नाफा कमाउने उदेश्य लिनुभन्दा पनि सेवा दिएर सेवाग्राहीलाई सन्तुष्ट बनाउनु महत्वपूर्ण हुने उनले बताए । कात्तिक १ गतेबाट सिट संख्या भन्दा बढी यात्रु आफ्ना सवारीमा नराख्न उनले सबैलाई आग्रह गरे । नियम उलंघन गर्नेलाई कारवाहीबाट उम्कन नदिने प्रजिअ  खरेलको भनाई थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका कोषाध्यक्ष भूगोल थापा, नेकपा एमालेका गण्डकी अञ्चल नेता प्रेम गुरुङ, एकीकृत (नेकपा माओवादी)की जिल्ला नेता पम्फा बसेल, नेकपा –माओवादीका जिल्ला नेता  अनिल विक लगायतले सवारी दुर्घटना न्युनिकरणका लागि प्रहरीले चालेका कदममा आफूहरुको साथ रहेको बताएका छन् । ट्राफिक प्रहरी दुर्गा प्रसाद बन्जाडेको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रहरी निरीक्षक दिपक श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम प्रहरी नायव उपरिक्षक रमेश थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Post a Comment

 
Top