कात्र्तिक ५ –सिंहदरवार भित्रका बेवारिसे सरकारी गाडीको विवरण १५ दिनभित्र बुझाउन संसदको अर्थ समितिले सम्बद निकायहरुलाई निर्देशन दिएको छ । सिंहदरवारभित्रैबाट सरकारी गाडीहरु हराउने गरेको र सरकारी गाडी सुबिधा लिने व्यक्तिहरुले नै ती गाडी भाडामा लगाएको मन्त्रालयका सचिवहरुले नै बताएपछि समितिले सबै गाडीको विवरण बुझाउन निर्देशन दिएको हो । अर्थ समितिको आज बिहान बसेको बैठकले सिंहदरवारभित्र रहेका पूराना र अन्य सरकारी गाडीहरु एकत्रित गरि डेढ महिनाभित्र लिलामी गरिसक्न समेत निर्देशन दिएको समितिका सभापति प्रकाश ज्वालाले बताउनुभयो ।

ऐन अनुसार १२ वर्षभन्दा पुराना र चालु हालतमा नरहेका सवारी साधनहरुलाई मात्र लिलाम गर्न सकिने कानुनी जटिलताले गर्दा दुर्घटना वा अन्य कारणले क्षतिग्रस्त भएका गाडीहरु कामै नलाग्ने भए पनि लिलाम गर्न नसकिएको सरकारी अधिकारीहरुले बताएका छन् । समितिले त्यस्ता गाडीहरु आवश्यकताअनुसार लिलाम प्रक्रिया अघि बढाउन सक्ने गरि ऐनमा संशोधन गर्न समेत निर्देशन दिएको छ । समितिले अबदेखि प्रत्येक सरकारी निकायले पुराना तथा काम नलाग्ने गाडीहरु प्रत्येक वर्ष अनिवार्य लिलामी गर्न पनि निर्देशन दिएको छ ।

यस्तै सरकारी गाडीहरुको व्यापक दुरुपयोग भएको भन्दै समितिले अबदेखि सरकारी गाडी सुबिधा पाउने व्यक्तिको तीन तह कायम गर्न सुझाव दिएको छ ।विशिष्ठ व्यक्तिहरुलाई गाडी, चालक र इन्धन सहित सबै सुबिधा दिने र दोस्रो तहका सरकारी अधिकारीलाई गाडीमात्र दिएर चालक, इन्धन र मर्मतका लागि निश्चित रकम मापदण्ड बनाएर दिन समितिले निर्देशन दिएको छ ।

Post a Comment

 
Top