नक्कली डिभिडी र भीसीडी बनाएर बिक्री गरेको आरोपमा पक्राउ परेकाहरुलाई रिहा गर्न माग गर्दै सिन्धुपल्चोक मेलम्चीका व्यापारीहरुले आज बजार तथा यातायात बन्द गरेका छन् । पक्राउ परेकाहरुलाई बिनासर्त रिहा गर्न माग गर्दै स्थानीय व्यापारीहरुले बजार तथा यातायात सेवा बन्द गराएका हुन् । ब्यापारीहरु बजारमा जम्मा भएर काठमाण्डौं जाने सवारी साधन सन्चालनमा अवरोध गरेका छन् । उनीहरुले मोटरसाइकल चलाउन समेत अवरोध गरेका छन् ।

बजार तथा यातायात सेवा बन्द हुदा तिहारको किनमेल गर्ने र काम विशेषले आवत जावत गर्नेहरु प्रभावित भएका छन् । नक्कली डिभिडी र भिसीडी बनाएर बिक्री गरेको भन्दै प्रहरीले मेलम्चीस्थित दुलाल मोवाईल हाउसका गणेश दुलाल, चालिसे मोबाईल सेन्टरका श्याममणी चालिसे, याङरीमा मोबाईल हाउसका दावा तामाङ र मोहन वाच सेन्टरका मोहन गौतमलाई मंगलबार पक्रेको थियो । पक्राउ परेका चारैजनालाई ईलाका प्रहरी कार्यालय मेलम्चीमा राखिएको छ । उनीहरुलाई म्याद थपका लागि बुधबार जिल्ला अदालत चौतारामा लग्ने प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

Post a Comment

 
Top