काठमाडौं, कात्तिक ११ – आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री अन्तरगत चौंथो खेलमा नेपाल १० रनले विजयी भएको छ । नेपालले डकवर्थ लुइस नियमका आधारमा नेपालले अमेरिकालार्इ पराजित गरेको हो । अमेरिकाले प्रस्तुत गरेको २२४ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङ गरेको नेपालले २२ ओभरमा १ विकेट गुमाएर ७३ रन बनाउँदा खेल वर्षाले प्रभावित भएपछि खेलको निर्णय डकवर्थ लुइस नियमबाट लिइएको हो । डकवर्थ लुइस नियम अनुसार नेपालले जितका लागि २२ ओभरमा ६४ रन बनाउनु पर्ने थियो । 

जितसँगै नेपाल शीर्ष स्थानमा उक्लिएको छ । चार खेल तीन खेलमा जित र एकमा पराजित भएको नेपालको ६ अंक छ । यस्तै समान ६ अंक रहेको युगाण्डा भने रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ । सोमबार वर्षाले प्रभावित भएको खेल मंगलबार फेरि सुरुबाटै भएकोमा वर्षाका कारण खेल प्रभावित भयो । नेपालका सुवास खकुरेलले नटआउट ४९ र उपकप्तान ज्ञानेन्द्र मल्लले नटआउट २२ रन बनाए । नरेश बुढायर भने रन नै नजोडी आउट भए । नटआउट ४९ रन बनाएका खकुरेल म्यान अफ दी म्याच घोषित भए ।

यसअघि मलेसियाको क्वालालाम्पुरको किन्रारा ओभल मैदानमा टस जितेर  व्याटिङक गरिरहेको अमेरिकाले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर २ सय २३ रन बनायो । अमेरिकाका लागि फहिद बबरले सर्वाधिक ५९ रन बनाए । नेपालका लागि सागर पुन र वसन्त रेग्मीले समान २ र शक्ति गौचनले ३ विकेट लिए ।

Post a Comment

 
Top