गोरखा श्रावण ३१ –साउन २९ गते विहीबार  सिमजुङ गाविस वडा नं. ६ सिरान डाँडामा भएको गोली काण्डको चौतर्फी विरोध भईरहेका बेला गोली काण्डका बारेमा हिजो संसदमा समेत कुरा उठेको छ । संविधानसभाका लागि गोरखा निर्वाचन क्षेत्र नं. २ का सभासद हितराज पाण्डे (उत्तम)ले धर्म निरपेक्ष राज्यमा आफ्नो संस्कृति अनुसारका काम गर्न जनताले किन नपाउने भन्दै जनतालाई विनाकारण गोली हान्नुको कारण सरकारसँग माग गर्नुभएको छ । सामान्य विषयमा गोली चलाउनुको कारण बारे सरकारले संसदमा प्रष्ट पार्नुपर्ने उहाँले बताउनुभयो ।
यसैवीच घटनाको विरोध गर्दै संघीय समाजवादी पार्टी गोरखा र नेपाल आदिवासी जनजाति महासंघ गोरखाले छुट्टटछुट्टै विज्ञप्ती प्रकाशित गरी विरोध गरेका छन् । तामाङ जातिको धर्म संस्कृति अनुसार गोरुका मासु प्रयोग गर्ने पुरानो चलन रही आएकामा राज्यले  गोली चलाएर ६२ वर्षिय लाक्पा तामाङलाई गम्भीर घाईते बनाएको प्रति उनीहरुले भत्र्सना गरेका छन् ।
आदिवासी जनजातिको नैसर्गिक तथा मानव अधिकारको ठाडो उलंघन गरी भच्चेक चौकी सुरक्षाकर्मीबाट चलाईएको प्रति आफुहरुको ध्यानाकर्षण भएको र जनआन्दोलन २०६२÷६३ को उपलब्धि धर्मनिरपेक्ष राज्य घोषणा पश्चात् पनि नेपालमा  आदिवासी जनजातिले स्वतन्त्ररुपमा मान्न पाउने धर्म ,संस्कार र संस्कृतिको कुनै पनि जानकारी नलिई प्रहरीद्वारा हस्तक्षेप हुनु दुर्भाग्य भएको महासंघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । त्यस्तै गरी आदिवासी जनजाति समुदायले आफ्नो स्वतन्त्र अधिकार प्रयोग गरी धर्म संस्कार संस्कृति मान्ने क्रममा गोरुको मासु प्रयोग गर्ने प्रचलनमाथी भएको प्रहरीको हस्तक्षेप प्रति आपत्ती प्रकट गर्दछौ, संघिय समाजवादी पार्टीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । संघीय समाजवादी पार्टीका  अध्यक्ष सुकदेव तामाङ र नेपाल आदिवासी जनजाति महासंघ गोरखाका अध्यक्ष विष्णु राना मगरद्वारा हस्ताक्षरीत विज्ञप्तीमा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै पिडितलाई क्षतीपूर्तीको माग गरिएको छ ।

Post a Comment

 
Top