सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता नागरिक छानविन आयोग गठन
काठमाडौं, माघ २७ ( सरकारले माओवादीले थालेको शसस्त्र द्वन्द्वकालमा भएका घटनाको छानबिन गर्न सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता नागरिक छानविन आयोग गठन गरेको छ ।
आयोगका पदाधिकारीको नाम सिफारिस गर्न गठित सिफारिस समितिको सिफारिसको आधारमा सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले संसद् सचिवालयका पूर्वमहासचिव सूर्यकिरण गुरुङको अध्यक्षतामा सत्यनिरुपण तथा मेलमिलाप र पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश लोकेन्द्र मल्लिकको अध्यक्षतामा बेपत्ता नागरिक छानविन आयोग गठन गरेको हो ।
सिफारिस समितिको सिफारिस अनुसार मन्त्रीपरिषद् बैठकले वरिष्ठ अधिवक्ता लिला उदासी, अधिवक्ता श्रीकृष्ण सुवेदी, समाजशास्त्री डा। माधवी भट्ट र उपप्राध्यापक मञ्चला झालाई सत्यनिरुपण तथा मेलमिलाप आयोगको सदस्यमा नियुक्त गरेको छ ।
मन्त्रीपरिषद् बैठकले बेपत्ता नागरिक छानविन आयोगको सदस्यमा विजुल विश्वकर्मा दुलाल, प्रा। डा। विष्णु पाठक, अधिवक्ता नरकुमारी गुरुङ र अधिवक्ता आईबहादुर गुरुङलाई नियुक्त गरेको कानुनमन्त्री नरहरी आचार्यले जानकारी दिनुभयो ।
२०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामा ६ महिनाभित्र सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता नागरिक छानविन आयोग गठन गर्ने उल्लेख गरिएकामा शान्ति सम्झौता भएको  ८ वर्षपछि बल्ल आयोग गठन गरिएका हुन् । दुवै आयोगको कार्यअवधि २ वर्ष रहेको छ ।
सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको संयोजकत्वमा गठित सिफारिस समितिले आयोगमा रहने पदाकिारीको नाम सोमबार सिफारिस गरेको थियो ।

Post a Comment

 
Top