गोरखा, मंसीर १७ – गोरखाको मनकामना गाविस–४ ढाँडबारीका किसानले सुन्तला बेचेर रु दुई करोड ५० लाख आम्दानी गरेका छन् । व्यावसायिक सुन्तला खेती गर्दै आएका ९४ जना किसानले प्रतिकेजी रु ६० मा बगैँचाबाटै सुन्तला बेचेका हुन् । स्थानीय किसानले ढाँडबारी कृषि सहकारी संस्था लिमिटेड गठन गरेर उक्त सहकारीमार्फत सुन्तला बिक्री गरेका छन् । “दिनहुँ सात गाडी सुन्तला बेच्छौँ”, सहकारीका अध्यक्ष ऋषिबहादुर आले मगरले भने, “मङ्सिरको पहिलो सातादेखि सुन्तला टिप्न थालेका हौँ”, केही दिन अघिदेखि स्थानीय किसानले आफ्नो बगैँंचामा फलेको सुन्तला धमाधम टिपेर बेचेका छन् ।

बगैँचाबाट टिपेको सुन्तला काठमाडाँैंको कालीमाटी बजार, चितवनको नारायणगढ, मुग्लिन, तनहुँको आँबुखैरेनी, कास्कीको पोखरालगायतका सहरमा निर्यात हुँदै आएको ढाँडबारीका किसान दीलबहादुर थापाले जानकारी दिए । गत वर्षमा भन्दा यस वर्ष सुन्तलाको दाना सानो फलेकाले उत्पादन घट्ने वरिष्ठ कृषि विकास अधिकृत तीर्थबहादुर श्रेष्ठले जानकारी दिए । “गत वर्षभन्दा उत्पादन घट्ने निश्चित भयो तर किसानलाई घाटा लाग्दैन ।” गत वर्षभन्दा सुन्तलाको प्रतिकेजी मूल्य बढेकाले किसानलाई राहत मिलेको अधिकृत श्रेष्ठको भनाइ छ । गत वर्ष किसानले बगैँंचाबाटै सुन्तला प्रतिकेजी रु ४० मा बिक्री गरेका थिए । मौसम सुरु भएदेखि नै किसानले यस वर्ष रु ६० घटेर सुन्तला बेचेका छैनन् ।

Post a Comment

 
Top