गोरखा माघ १९ ऐतिहासिक गोरखा दरबारमा खानेपानीको अभाव, दरबारमा खानेपानीको सुविधाको लागि २५ लाखको आयोजना अघि बढाईदै ।
गोरखा जिल्लाको ऐतिहासिक गोरखा दरबारमा खानेपानीको अभाव भएको छ ।
हिउँद लागेसँगै बर्सेनि खानेपानी अभाव हुँदै आएको दरबारका कर्मचारीले बताएका छन् । स्थानीय धाराबाट लिफ्ट गरेर ल्याएको पानीले दरबारको नियमित सरसफाइ गर्न पनि नपुगेपछि भक्तजनले खानेपानी नपाएको दरबारका कर्मचारी बताउँछन् ।
दरबारमा खानेपानीको दीर्घकालीन समस्या रहेको दरबार हेरचाह अड्डाका प्रमुख गणेश भट्टराईले बताउनुभएको छ । कहिलेकाहीँमात्रै धारामा पानी आउनाले झन् समस्या बढाएको उहाको भनाई छ ।  दरबारसँगै रहेको कालिका मन्दिर, गोरखनाथ गुफामा पनि पानी नहुँदा समस्या भएको छ । लिफ्ट गरी ल्याएको पानी एउटा ड्रम भरिन पनि रातभरजस्तो लाग्ने भएकोले दरबारमा खानेपानीको समस्या भएको हो ।

दरबारमा दिनहुँ लिपपोतदेखि रोट पोल्ने पिठो मुछ्न पानीको आवश्यकता पर्छ ।
दरबारमा दिनहुँ ५०० देखि तीन हजारसम्म भक्तजन पूजाअर्चनाका लागि आउने गरेका छन् । भक्तजन धेरै आएका दिन खानेपानीको समस्या पर्ने गरेको दरबार हेरचाह अड्डाका प्रमुख भट्टराईको भनाइ छ ।

त्यसैगरी दरबार सुरक्षाका लागि बसेका नेपानी सेनाको क्याम्पमा पनि पानीको समस्या छ । दरबार नजिकैको डाँडामा बस्दै आएका सेना खानेपानी लिन दिनहुँ आधा घन्टा पैदल हिँडेर खानेपानी बोकेर ल्याउने गरेका छन् । ड्रममा पानी भरेर उकालो बाटो ल्याउनुपर्दा सेनालाई पनि समस्या भएको छ ।
जिल्लास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले नेपाली सेना र दरबारमा खानेपानी सुविधा ल्याउनका लागि रु २५ लाखको लगानीमा आयोजना निर्माण अघि बढाएको जनाएको छ ।

कार्यालयका इञ्जिनियर इन्द्रप्रताप बोहराले दरबारमा खानेपानी छेलोखेलो हुने गरी आयोजना अघि बढेको जानकारी दिनुभयो ।  दरबारमाथिको कोटमा ट्याङ्की निर्माण गरेर नेपाली सेनाको क्याम्पमा पनि खानेपानी सुविधा पु¥याउने तयारी रहेको उहाँको भनाइ छ ।

Post a Comment

 
Top