९ फागुन, सल्यान । एमाओवादी नेता एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले संविधानसभामा मतदानको प्रकृया खारेज नभएसम्म बार्तामा नबस्ने बताएका छन् । सल्यान सदरमुकाम खलंगामा शनिबार बिहान आयोजित पत्रकार भेटघाटमा नेता भट्टराईले मतदान प्रकृयाको खारेजी नै वार्ताका लागि पहिलो शर्त भएको बताए ।
‘घरको ढोका बन्द गरेर घरभित्र बोलाउँदा कसरी घरभित्र जान सकिन्छ रु’ उनले भने ‘शुशीलजी र केपीजी ले पहिले ढोका खोल्नुस्, त्यसपछि मात्रै हामी घरभित्र आउन सक्छौँ ।’ एकातिर मतदान प्रकृया अघि बढाउने अर्को तर्फ सहमति गरौँ भनेर सरकारले नौटंकी गरेको उनले बताए ।
‘अमूर्त वार्तामा बस्नुको कुनै औचित्य छैन’ पश्चिम कमान्डको नेतृत्व गर्दै सल्यान आइपुगेका उनले भने, ‘सरकारले अहिले वार्ताका लागि गरेको आहृवान आन्दोलन तुहाउने खेल मात्र होे ।’
अहिले सहमतिको बाधक प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओली रहेको उनले बताए । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको वैठकमा सुशील कोइराला सधैं गयल हुने र केपी ओलीले उट्पट्याङ कुरा गर्ने प्रवृतिले सहमति हुन नसकेको उनले बताए ।
सरकारलाई खबरदारी गर्नका लागि अहिले आफूहरु देश दौडाहामा रहेको भन्दै भट्टराईले १६ गते सम्म पनि सरकारले सहमतिका लागि कुनै पहल नगरे त्यसपछि निणरयक आन्दोलन गर्ने बताए ।
निर्णायक आन्दोलनको स्वरुपबारे पत्रकारले राखेको जिज्ञासामा भट्टराईले त्यो कुरा जनताको हातमा रहेको बताए । ‘जनताले आफै आन्दोलनको स्वरुप निर्धारण गर्नेछन्,’ उनले भने, त्यसबाट आउने परिणामको जिम्मेवारी लिन सरकार बाध्य हुनुपर्छ ।’
यसैवीच शनिबारै कर्मचारी मिलन केन्द्र सल्यानले आयोजना गरेको कार्यक्रममा भट्टराईले जनताको सेवालाई प्रभावकारी वनाऊन राष्ट्रसेवकहरुको पहिलो काम भएको बताए । उनले भने(  सत्ता, शक्तिभन्दा विधि र प्रक्रियामा रहेर व्यवहारिकरुपमा सहज ढंगले जनताको काम गर्नुहोस् ।’
  भट्टराईले सल्यानमा वुद्धिजीवी र शिक्षकहरुसँग पनि अन्तरक्रिया गगरेका छन् । त्यस्तै राष्ट्रपति रनिङ्ग शिल्डको उद्घाटन र अगुवा कार्यकर्ता प्रशिक्षणमा सहभागी भई साँझ रुकुम जाने कार्यक्रम रहेको एमाओवादी सल्यानका अध्यक्ष कर्णवहादुर बुढाथोकीले बताए ।

Post a Comment

 
Top