गोरखा, भाद्र १७ –  हराएको गरगहना खोजी भईरहेको प्रहरी कार्यालय गोरखाको भनाई । गोरखाको वगुवा गाविस खाञ्चोकको दारेगौडामा गत १४ गते शनिवार भएको वस दुर्घटनामा ज्यान गुमाएकी आरुचनौटे १ आरुघाटकी ऐश्वर्या श्रेष्ठकोे गरगहना र नगद हराएको आफन्तले बताएका छन् ।
बहिनीको विवाहका लागि काठमाडौं जान लागेकी श्रेष्ठको साथमा रहेको झण्डै १३ तोला सुनका गहना र ८५ हजार रुपैया फेला नपरेको आफन्तहरुको भनाई छ ।  ऐश्वर्याको साथमा ४ तोलाको सुनको हार, सुनका २ थान बाला, सिक्री र लकेट ३ तोला, १ तोला बराबरका २ थान औंठी, २ जोर टप, तिलहरिलगायतका गहना हराएको आफन्त सन्दिप श्रेष्ठले बताउनुभयो । उहाको साथमा रहेको ८५ हजार रुपैया नगद पनि हराएको सन्दिपको भनाई छ ।
दुर्घटनामा ऐश्वर्या, उहाकी छोरी योजनासहित ४ जनाको ज्यान गएको थियो । उहाको साथमा रहेको ठूलो झोला फेला परेको तर त्यो झोलाभित्र सुन राखिएको ह्याण्ड ब्याग नै फेला नपरेको आफन्तहरुले बताएका छन् ।  गरगहना हराएको भनि आफन्तले प्रहरी कार्यालयमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो । गोरखाका सुरक्षा टोली भन्दा ध्याम्पेसाल इकाईका सुरक्षा टोली अलि छिटो उद्धार कार्यमा जुटेका हुनाले इलाका प्रहरी कार्यालय ध्याम्पेसालले स्थानिय स्तरमा सोधबुझ र दुर्घटनाबाट क्षतिग्रस्त वसमा खोजी कार्य जारी भईरहेको इलाका प्रहरी कार्यलय ध्याम्पेसालका इन्स्पेक्टर रविन्द्र खनालले जानकारी दिनुभयो । घटना स्थलमा स्थानिय वासिन्दा सुरक्षा कर्मीहरु भन्दा पहिले नै पुगेकाले उनिहरु संग सोधबुझ गरिएको खनालले बताउनुभयो ।
वस दुर्घटनामा गम्भीर घाइते भएकाहरुको ललितपुरको बिएण्डबी अस्पतालम उपचार भइरहेको छ । उनीहरुको अवस्था अहिले भने खतरामुक्त रहेको  जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ  । गम्भीर अवस्थाका १२ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको थियो ।

Post a Comment

 
Top