काठमाडौं,भदौ १८–सरकार र मुख्य राजनीतिक दलहरुले मोहन वैद्य नेतृत्वको माओवादीसहित संविधानसभा बाहिरका शक्तिहरुलाई समेट्न राजनीतिक सभाको अवधारणा लागू गर्ने भएका छन् । कार्यतालिकाभित्रै नयाँ संविधान जारी गर्न नेकपा–माओवादीलाई समेत संविधान निर्माण प्रक्रियामा सहभागी गराउनका उसले राखेको राजनीतिक सभाको खाका बनाउन दलहरु औपचारिक छलफलमा जुटेका हुन् ।

सरकारमा सहभागी दल, प्रमुख विपक्षी एमाओवादी र नेकपा–माओवादीबीच मंगलबार भएको त्रिपक्षीय छलफलपछि उनीहरुले संविधानसभाबाहिरको शक्तिलाई समावेश गर्ने राजनीतिक खाका खोजी आगामी बैठकमा पेस गर्ने निर्णय गरेका छन् ।

बैठकको सुरुमै कांग्रेस र एमालेका नेताहरुले संविधान निर्माणको बिषयमा संविधानसभा बाहिर गई सहमति गर्नु प्रकृयागत ढंगले गलत हुने भन्दै त्यसबारे गृहकार्य हुनुपर्ने बताएका थिए । आफूले राखेको प्रस्ताव अस्वीकार हुने देखेपछि नेकपा–माओवादीका नेताहरु केही आक्रोशित भएका थिए । तर, लगतै संविधानसभाको अधिकार कटौति नहुनेगरी राजनीतिक भेला या सम्मेलनबाट पनि सहमति खोज्न सकिने धारणा राखेपछि छलफल सकरात्मक बनेको थियो ।

‘राजनीतिक सभा गर्ने कुरामा दलहरुबीच बिवाद छैन्,’एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने,‘त्यसको कार्यविधि के हुने, को सहभागी हुनेबारे गृहकार्य गर्ने कुरा भयो ।’आजको कान्तिपुर दैनिकमा खबर छ ।

Post a Comment

 
Top