गोरखा श्रावण ३० –गोरखा जिल्लाको फिनाम गाविस वडा नं. ६ स्थित पन्थेस्वरीमा रहेको पन्थेस्वरी प्राथमिक विद्यालयमा अभिभावक भेला भईरहेको स्थानमा पहिरो खस्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही स्थान निवासी ४६ वर्षिय हिरामाया बयलकोटी, ४० वर्षिय किरण सिर्मल र ३५ वर्षिय देउमाया सिर्मल रहेका छन् । उनीहरुको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ताईवानी नागरिकहरुले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण कार्यक्रममा अभिभावकहरु बसेकै कोठामा माथिबाट पहिरो खसेको स्थानीय प्रत्यक्षदर्शी रामशरण अधिकारीले बताउनुभयो ।
गम्भीर घाईते भएका ६० बर्षिय हरीराम श्रेष्ठ र लिला बसेललाई प्राथमिक उपचार पछि थप उपचारका लागि भरतपुर अस्पताल रिफर गरिएको छ । अन्य घाइते राम बहादुर खनखवास, ३७ बर्षिय मिना खनखवास, ११ बर्षिय दिपक बसेल , टोपमान सिर्मल, सान्नानी बयलकोटी, निर्मला कुँवर, १३ बर्षिय कविता बसेल , र कमल बयलकोटी रहेका छन् । उनीहरुको गोरखा अस्पतालमा उपचार भईरहेको छ । विदेशमा रहेका एक गाउँलेले शैक्षिक सामग्री पठाएको र सो वितरण गर्नका लागि आज अभिभावक भेला भएको थियो ।  पहिरोमा परी एक जना ताईवानी नागरिक समेत घाईते भएका छन् । दिउँसो पौने तीन बजे गएको पहिरोमा परेकाहरुको उद्धारका लागि प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल सहित प्रहरीको टोली खटिएको थियो । घटना स्थल जिल्ला सदरमुकामबाट करिव १ घण्टाको पैदल दुरीमा पर्दछ ।

Post a Comment

 
Top