गोरखा श्रावण २२ –जिल्ला कृषि विकास कार्यालयले गोरखाका  ८० प्रतिशत खेतमा रोपाई भईसकेको बताईरहदा गोरखाका केही ग्रामीण भेगमा भने रोपाई गर्न प्रयाप्त पानी नभएपछि खेतमा कोदो रोपाई सुरु भएको छ । आकासको भेल पानी छोपी रोपाई गर्नुपर्ने टारी खेतमा पानी नपरेपछि किसानहरुले कोदो रोप्न थालेका छन् । जिल्लाको बुंकोट गाविसका किसानहरुले टारी खेतमा कोदो रोप्न थालेका हुन् । बुंकोट गाविस वडा नं. ४ का गुणाकान्त खनालले १५ मुरी धान फल्ने टिमुरे खेत र ६ मुरी धान फल्ने तोरी ढापमा रोपाई हुन नसकेपछि कोदो रोपेको बताउनुभयो । उहाँले आकासे पानीको आश गरेर बस्दा बस्दै धानको विउ व्याडमै सुकेको र भदौ लाग्न लागिसकेकोले खेत रोपाई नहुने भएपछि आफुले खेतमा कोदो रापेको बताउनुभयो ।
त्यस्तै बुंकोट गाविसकै वडा नं. ३ वयाकका अर्का किसान भरत श्रेष्ठले पनि डुम्री स्वाराको खेतमा रोपाई नभएपछि कोदो रोपेको बताउनुभयो । सोही ठाउँका अर्का किसान भक्क श्रेष्ठले पनि पधेरो खेतमा कादो रोपेको बताउनुभयो ।
सिंचाईको सुविधा नभएको र समयमा पानी नपरेको कारण गोरखाको ग्रामिण भेगका प्रायजसो टारी खेतहरुमा रोपाई हुन सकेको छैन । रोपाई नभएपछि किसानहरु खेतमा मास छर्न र कोदो रोप्न व्यस्त छन् । जिल्ला कृषि विकास कार्यालय गोरखाका प्राविधिक सहायक हिरालाल रानाभाटले भने गोरखाका लगभग ८० प्रतिशत खेतहरुमा रोपाई भएको बताउनुभएको छ ।

Post a Comment

 
Top