गोरखा श्रावण २५ –नेपाल आदिबासी जनजाति महाँसंघ जिल्ला समन्वय परिषद् गोरखा र महासंघका केन्द्रीय उपाध्यक्ष डण्डु शेर्पाबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार महासंघ, गोरखाको कार्यालयमा भएको कार्यक्रममा उपाध्यक्ष शेर्पाले आदिवासी जनजाति समुदायको पक्षमा नयाँ संविधान नबने त्यसलाई जलाउने चेतावनी दिनुभएको छ । उहाँले पहिचानसहितको संघीयता नै आदिवासी जनजातिको मूल मुद्दा भएको उल्लेख गर्दै त्यसको लागि सम्पूर्ण आदिवासी जनजाति समुदाय एक हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले पहिचानसहितको संघीयताले देश नटुक्रने स्पष्ट पार्दै पहिचान सहितको संघीयताले देश झन् मजवुत हुने ठोकुवा गर्नुभयो । छलफल कार्यक्रममा उपाध्यक्ष शेर्पाले महासंघको भावि कार्ययोजना र केन्द्रका गतिविधिहरुको बारेमा पनि जानकारी गराउनुभएको थियो । त्यस्तै कार्यक्रममा महासंघका जिल्लाका प्रतिनिधिहरुले गोरखाका आदिवासी जनजातिहरुको अवस्था, उनीहरुले भोग्दै आएका समस्याहरु उपाध्यक्ष शेर्पासमक्ष राखेका थिए । छलफल कार्यक्रममा महासंघका जिल्ला नेतृत्वका साथै विभिन्न जातीय संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

Post a Comment

 
Top