गोरखा, कार्तिक १४ –आज चितवनको कुरिनघाटमा एक दिने बाली उपचार शिबिर सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालय गोरखाको आयोजनामा भएको उक्त शिविरमा गोरखाको मनकामना ताक्लुङ मकैसिङ्ग ताङलीचोक भुम्लीचोक तथा चितवनको दारेचोक र चण्भिञ्ज्याङ गाविसका कृषकहरुले तरकारी तथा बालीहरुको परिक्षण गराएका थिए । कृषि विकास कार्यालय गोरखाका बाली संरक्षक अधिकृत रमेश चन्द्र सुवेदीले कृषकहरुको बाली निरक्षण गर्नुभएको थियो । साथै शिबिरमा बालीमा लागेको रोग पत्ता लगाई सामाधानको उपायका बारेमा अधिकृत सुवेदीले कृषकहरुलाई जानकारी गराउनुभएको थियो ।
प्रत्येक महिनाको १४ गते हुने शिबिर यो दोश्रो पटक हो । सामान्य रोग लागेको अवस्था र सामाधान तथा उपचारको बारेमा कृषकहरुले जानकारी नपाउदा ठुलो क्षती बेहोर्नु परिरहेको बेला यस्ता किसिमको शिबिरले किसानमा सचेत तथा जागरण फैलाउने काम गरेको भन्दै कृषक वेद प्रसाद तिवारीले खुसी ब्याक्त गर्नुभयो । गत असोजमा भएको शिबिरमा खुर्सानीमा लागेको रोग पत्ता लगाई उपचार गरेपछि आफुले राम्रो आम्दानी गर्न सफल भएको कृषक तिवारी भनाई थियो ।
बालीमा लागेको रोग बेलैमा पत्ता लगाई उपचार गरेमा कृषकहरुले क्षती बेहोर्नु नपर्ने भन्दै बाली संरक्षक रमेशचन्द्र सुबेदीले सबै कृषकहरुलाई शिबिरमा आई आफ्नो बालीको निरक्षण गराउन आग्रह गर्नु भयो ।
उक्त शिबिरमा कृषकहरुका साथै गोरखा कृषि सम्पर्क ईकाई कार्यालय मनकामनाका प्रा.स. अर्जुन पाण्डे र संचारकर्मी लगायतको पनि सहभागिता रहेको थियो ।
यसै बिच गोरखाको घ्यालचोक गाविसमा बिषादीको न्युनीकरण सचेतना सम्बन्धी एक दिने तालिम हुने भएको छ । कृषक हरुले बालीमा अत्यधिक बिषादीको प्रयोग गरिरहेको र त्यसले मानवीय स्वस्थ्यमा असर पारेको हुनाले कसरी हुन्छ बिषादीको प्रयोगमा न्युनीकरण गर्ने उदेश्यले कृषकहरुलाई बिषादी न्युनिकरण सम्बन्धी तालिम दिन लागेको जिल्ला कृषि विकास कार्यालय गोरखाका बाली संरक्षक रमेश चन्द्र सुबेदीले जानकारी दिनुभयो ।
उक्त सचेतना तालिम यही कार्तिक १५ गते भोली शनिबार १० बजे गाविसको कार्यलया घ्यालचोकमा हुने संरक्षक सुबेदीले जानकारी दिनुभयो ।
Post a Comment