काठमाडौँ, जेठ २२– राष्ट्रपति डा। रामवरण यादवले ‘विकास योजनाका लागि जनसङ्ख्याको सञ्चार’ भन्ने नाराका साथ आजदेखि यहाँ सुरु भएको तीनदिने प्रथम राष्ट्रिय जनसङ्ख्या सम्मेलन, २०१४ को उद्घाटन गरे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग, नेपाल जनसङ्ख्या सङ्घ, कृपा नेपाल, नेपाल परिवार नियोजन सङ्घ र संयुक्त राष्ट्र जनसङ्ख्या कोषको संयुक्त आयोजना तथा पिएसआई नेपाल र मेरी स्टोप्स नेपालको सहआयोजनामा सुरु भएको सो सम्मेलनमा सो विषयमा केन्द्रित रही १५ विषयका ७२ कार्यपत्र प्रस्तुति हुने छन् । सम्मेलनको मुख्य ध्येय जनसङ्ख्या र दिगो विकासका विविध पक्षका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विकास साझेदारका बीचमा राज्यका विकाससम्बन्धी प्राथमिकतामा छलफल गर्र्ने र अन्तर्राष्ट्रिय जनसङ्ख्या तथा विकास सम्मेलन, १९९४ र सहस्राब्दी विकास लक्ष्य २००० का कार्यनीतिका आधारमा साझा अवधारणा निर्माण गर्नु रहेको छ । ती क्षेत्रगत विषयमा जन्म, बसाइँसराइ, बुढ्यौली, लैङ्गिक र विकास, किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, सुरक्षित मातृत्व तथा शिशु स्वास्थ्य, प्रजनन स्वास्थ्य सेवामा पहँुच, परिवार नियोजन, गर्भपतन र सोसम्बन्धी अनुसन्धान, एचआइभी र एड्स, जनसङ्ख्या, गरिबी र विकास, यौनिक स्वास्थ्य व्यवहार र अभ्यास, जनसाङ्खिकीय विधि, उमेर लिङ्ग संरचना र जनसाङ्खिकीय लाभ, स्वास्थ्य, पोषण र लैङ्गिक हिंसासम्बन्धी छन् । सो अवसरमा राष्ट्रपति डा यादवले दिगो विकासका लागि जनसङ्ख्या व्यवस्थापन गर्र्न अति जरुरी रहेको बताउँदै जनसङ्ख्या व्यवस्थापनका लागि जन्म, बसाइँसराइ, यौन तथा प्रजनन स्वास्थ्य, सुरक्षित मातृत्व, परिवार नियोजनजस्ता महत्वपूर्ण पक्षलाई ध्यान दिन आग्रह गरे । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले दिगो विकासमा जनसङ्ख्यालाई प्रभावकारी रुपमा समाहित गर्न स्वास्थ्य तथा जनसङ्ख्यासम्बन्धी नयाँ नीति सरकारले ल्याउन लागेको जानकारी दिँदै हाल दीर्घकालीन जनसङ्ख्या नीतिमार्फत जनसङ्ख्या व्यवस्थापनका विभिन्न कार्यक्रम सञ्चालन तथा जनसङ्ख्या तथा विकाससम्बन्धी कायरो सम्मेलन, १९९४ र सहस्राब्दी विकास लक्ष्यलाई पूरा गर्न सरकारले काम गरिहेको छ भने । सचिव डा प्रवीण मिश्रले जनसङ्ख्या व्यवस्थापनका लागि प्रजनन स्वास्थ्य, परिवार नियोजन, बसाइँ सराइजस्ता पक्षमा मन्त्रालयले काम गरिरहेको जानकारी दिए । जनसङ्ख्या विषयका प्रा डा बालकुमार केसीले विकासोन्मुख देशका सरकारले जनसङ्ख्यालाई उच्च महत्व नदिँदा आर्थिक र समाजिक, प्रजनन स्वास्थ्यका क्षेत्रमा नकारात्मक असर परेको बताउँदै युवालाई परिवार नियोजनको महत्वका बारेमा थप जानकारी दिन आवश्यक भएकामा जोड दिए । सम्मेलन संयोजक प्रा डा रामशरण पाठकले प्रथम जनसङ्ख्या सम्मेलनले आगामी दिनमा जनसङ्ख्या र विकास विषयमा नीति निर्माण गर्न, अध्ययन अनुसन्धान गर्न कोसेढुङ्गाका रुपमा काम गर्न सहयोग गर्ने धारणा राखे । नेपालस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय समन्वयकर्ता जेमी म्याक गोल्डरिकले जनसङ्ख्या, गरिबी, उत्पादन तथा खपतको ढाँचाले समाजको विकासमा प्रभाव पारिरहेको बताए । एसियाली जनसङ्ख्या सङ्घका अध्यक्ष प्रा डा टेरेन्स हुलले गर्भ निरोधक साधनको प्रयोगमा वृद्धि, मातृमृत्युदरमा कमी तथा विकासका योजनामा जनसङ्ख्यालाई समाहित गर्दा पछिल्लो सयम जनसङ्ख्याका क्षेत्रमा उल्लेख्य प्रगति आएको धारणा राखे ।
Subscribe to:
Post Comments (Atom)

Post a Comment