काठमाडौं,जेठ २२– विराटनगरमा हालै सम्पन्न राष्ट्रिय सम्मेलनले एकलौटी ढंगले केन्द्रीय सदस्य मनोनयन गरेर आफ्नो पक्षलाई साइजमा ल्याएको निष्कर्षमा पुगेको एमाओवादीभित्रको बाबुराम खेमाले नयाँ रणनीतिसहित अघि बढ्ने तयारी थालेको छ । संस्थापन पक्षले ‘विधि र प्रक्रिया मिचेर नौटंकी गरेको’ आरोप लगाउँदै पोलिटव्युरो, स्थायी समिति र पदाधिकारी निर्वाचनमा सहभागिता नजनाएको यो खेमाले ‘हटेर होइन डटेर’ अघि बढ्ने निष्कर्ष निकाल्दै पार्टीभित्र आफ्नो पक्षलाई थप बलियो बनाउन छलफललाई घनीभूत बनाइरहेको छ । पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकपछि देखिएको अन्योललाई हल गर्न आफू पक्षीय केन्द्रीय सदस्यहरूलाई बोलाएर बाबुरामले परामर्शलाई  तिव्रता दिएका छन् ।  आफ्नो लाइन स्पष्ट पार्न अहिले छलफलकै प्रक्रियामा रहेका बाबुराम पक्षीय नेताहरूबीचमा केही विकल्पमाथि घनीभूत रुपमा छलफल चलिरहे पनि निष्कर्ष भने निकालिएको छैन । बाबुराम पक्षीय एक नेताले दिएको जानकारी अनुसार अहिले यो समूह तीन विकल्पमाथि केन्द्रित भएर आफ्नो भावी दिशा स्पष्ट पार्ने कार्यमा जुटिरहेको छ ।
स्रोतका अनुसार अहिले यो खेमामा पार्टीभित्र निर्वाचित गराइएका पदहरू स्वीकारेर संघर्ष गर्ने या  पद नलिने तर केन्द्रीय समितिको जिम्मेवारी ग्रहण गरेर पार्टीभित्र अन्तर्संघर्ष चर्काउने विकल्पमा माथापच्ची चलिरहेको छ ।  संविधान नबनुञ्जेल पार्टीमा लड्ने र त्यसपछि नयाँ पार्टी बनाउने अर्को विकल्प पनि उक्त खेमामा पेश भएको बताइएको छ । पेश भएका यी तीन विकल्पमध्ये अन्तिम विकल्प संविधान नबनुञ्जेलसम्म पार्टीभित्र लड्ने र त्यसपछि पनि नसुध्रिएमा नयाँ पार्टी बनाउने विकल्पमा अधिकांश बाबुराम पक्षीय केन्द्रीय सदस्यहरू मतैक्य देखिएको बताइएको छ ।  यद्यपि बाबुराम पक्षले आफ्नो धारणा भने अझै तय गरिनसकेको र केही दिनमै छलफललाई टुंग्याउने गरी गृहकार्य भइरहेको स्रोतको ले बतायो  । बाबुराम पक्षीय नेता नवराज सुवेदीले विराटनगर सम्मेलनपछि पार्टीमा धेरै स्खलन आएको दाबी गर्दै पार्टीमा अन्तरसंघर्ष गरेर अघि बढ्ने बताए । ‘विराटनगर सम्मेलनपछि पार्टीमा थप विचलन र स्खलनहरू देखा परेका छन्’, संवाददातासँग कुराकानी गर्दै उनले भने, ‘अब पार्टीमा बहस र छलफल गरेर मतान्तरहरूलाई हल गर्दै जानुको विकल्प छैन । अब हामी छलफल, बहस मार्फत नै अगाडि बढेर पार्टीमा आफ्नो भूमिका निर्वाह गर्छौं ।’ उनले पार्टीमा केन्द्रीय सदस्यको जिम्मेवारीमा बस्न आफ्नो पक्ष तयार भए पनि अन्य पदहरूमा भने नबस्ने स्पष्ट पारे । आगामी महाधिवेशनसम्म अन्तरसंघर्ष गरेर पार्टीलाई नयाँ बनाउन लाग्नुको विकल्प नभएको उनको तर्क थियो ।

Post a Comment

 
Top