गोरखा : एक गाउँ एक उत्पादन कार्यक्रम अन्तरगत सिम्जुङ गाविस आत्म निर्भर बन्दै गएको छ । विभिन्न सङ्घ सँस्थाको समन्वय र गाउँ विकास समितिको कार्यालयको सहयोगमा सुरु भएको ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमका कारण स्थानीयहरु आत्मनिर्भर बन्दै गएका हुन् ।
यूवाहरुको विदेश पलायन रोक्नका लागि कार्यक्रम सुरु गरिएको गाविस सचिव शेखरनाथ न्यौपानेको भनाई छ । उनी भन्छन्– ‘गाउँमा यूवाहरु भेट्टाइनै छोड्यो, कामका लागि विदेश जाने तथा स्वदेशकै ठूला शहरहरुमा बस्ने गर्नाले त्यस्ता यूवाहरुको पलायन रोक्नका लागि हामीले यस्तो व्यवसाय सुरु गरेका हौँ ।’
अहिले गाविसका प्रत्येक वडामा कम्तीमा एक व्यवसाय सञ्चालनमा रहेको छ । जसअन्तरगत गाविसको वडा नं. १ २ र ७ मा अलैँची खेती गरिएको छ । त्यसैगरी वडा नं. ३, ४, ५ र ८ मा तरकारी खेती गरिएको छ । वडा नं. ९ मा मौरीपालन र जडिबुटी खेती सुरु गरिएको छ भने वडा नं. ६ मा पर्यटन प्रवद्र्धनका लागि होमस्टे लागू गरिएको छ ।
सिमजुङको वडा नं. ६ सिरानडाँडामा होमस्टे कार्यक्रम लागु भएपछि गाउँको मुहार नै फेरिएको छ । गुरुङबस्ती रहेको उक्त स्थानका १५ घरहरुमा होमस्टे सुरु गरिएको हो । गुरुङ समुदायको रहनसहन बुझ्ने तथा साँस्कृतिक कार्यक्रम हेर्नका लागि पनि टाढाटाढाका आन्तरिक तथा बाह्य पर्यटक समेत सिरानडाँडा पुग्ने गरेका छन् । गाउँमा पुगेका पाहुनाहरुलाई फुलमालाका साथ स्वागत गर्नुका साथै गुरुङ कला र संस्कृति झल्कने भेषभुषा तथा साँस्कृतिक कार्यक्रम देखाउने गरेको दिल कुमारी गुरुङ बताउँछिन् ।
अन्य वडाहरुमा पनि सुरु गरिएको व्यवसायबाट आर्थिक लाभ हुन थालेको छ । वडा नं. ७ का २२ घरमा च्या, अदुवा तथा हलेदोको खेतीबाट राम्रो आम्दानी भएको हितबहादर गुरुङले बताए । त्यसैगरी वडा नं. २ को अदुवा र हलेदोको व्यवसायपनि राम्रो भएको छ । वडा नं. ९ का २५ घरमा सुरु गरिएको मौरीपालन व्यवसायले पनि बिस्तारै व्यवसायिकता हासिल गर्नेमा स्थानीयहरु ढुक्क छन् । सिम्जुङको ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमका लागि सिम्जुङ गावसिको कार्यालयका साथमा महिला तथा बालबालिकाको कार्यालय गोरखाको गरिबी विरुद्ध महिला अभियान र जिल्ला कृषि विकास कार्यालय लगायतले पनि सहयोग गरेका छन् ।
Post a Comment