नयन केसी
गोरखा : सिमसिम पानी, झमक्क साँझ परेको समय । आफ्नो अर्काे नचिनिने बेलामा अपरिचित ठाउँमा नमस्कार पाउँदा गोरखाका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल एकाएक झस्किए । बिहिबार जिल्लाका विभिन्न स्थानको स्थलगत भ्रमणपछि प्रजिअ सदरमुकाम फर्कने क्रममा भालुस्वाँरामा एकैक्षण गाडी रोकिएको मौका छोपेर आएका एक वृद्धले अचानक नमस्कार गर्दा प्रजिअ खरेल झस्किए ।

‘के छ बुबा, लौ भन्नुस !’ प्रजिअको प्रश्न भुँइमा खस्न नपाउँदै वृद्धले समस्याको पोको फुकाए, ‘बाबु, मेरो गाउँमा  रहेको विद्यालयको सानो झुप्रोमा नयाँ भवन बनाउनका लागि शिक्षा कार्यालयले २ कोठे भवन दिएको छ ।’

‘भवन दिएको भए त राम्रो भयो नि त बुबा, समस्या के भयो र ?’ सिडियोको प्रतिप्रश्नमा वृद्धले लामो सुस्केरा हाल्दै भने, ‘त्यही त कुरा हो बाबु, अति आवश्यक भवन त प¥यो तर के गर्नु त्यो भवन बनाउन जग्गा पनि छैन । बच्चाहरु बाहिर चौरमा बसेर पढ्न बाध्य भएका छन् । लौन सिडिओ बाबुले केही सहयोग गरिदिनु प¥यो ।’ कुरोको चुरो बल्ल बुझेका सिडियोले मुण्टो हल्लाउँदै भने, ‘ठिक छ बुबा, म हेरौँला ।’

गोरखामा कार्यभार सम्हालेको ३ दिनमा नै गाउँ पुगेका प्रजिअ खरेलले यस्ता थुप्रै समस्याहरुको पोको फेला पारे ।

‘गाउँमा होमस्टे त चलाउन थालियो तर खै उचित सहयोग नै भएन ।’ नम्कीको होमस्टेमा प्रजिअ देख्ने बित्तिकै आएको गुनासो हो । गाउँ भ्रमणका क्रममा नम्की होमस्टेमा उनलाई स्थानीय उत्पादनका रुपमा रहेको भुटेको भटमास दिँदै एक महिलाले भनिन्, ‘के गर्नु सर, यो होमस्टेको अलि बढी प्रचार गराइदिनु प¥यो, अनि अलि धेरै पाहुना आउनुहुन्थ्यो कि ?’

जवाफमा प्रजिअले गाउँमा आएका पाहुनाको सत्कारमा बिशेष ध्यान दिन आग्रह गर्दै केही समयपछि आफूपनि बस्ने गरेर नम्की घुम्न आउने प्रतिबद्धता जाहेर गरे ।

भच्चेकमा फर्किएको प्रजिअको टोलीलाई स्वागतका लागि खडा भएको प्रहरी टोली बस्ने भाडाको घर देख्दा लाग्थ्यो, त्यो प्रहरी बस्ने घर नभई वर्षाैदेखि बसाँई   सरेर गएको कुनै थोत्रो घर हो । निहुरीएर मुस्किलले भित्र पस्न सकिने उक्त घरमा कसरी ९ जना प्रहरीहरु बसे होलान्, प्रजिअ छक्क परे । 


‘भवन निर्माणका लागि बजेट त परेको छ सर !’ तनक्क तन्किदै फौजी तरिकामा कार्यालय इन्चार्ज गोविन्द आचार्यले गुनासो पोखे, ‘टेण्डर भएर ठेक्का परे पनि ठेकेदारले काम नगर्दा हैरान भइयो सर, यो वर्षामा कसरी ओत लाग्ने होला ?’

भच्चेक प्रहरी चौकीको भन्दा फरक थिएन, स्वास्थ्य चौकीको समस्या । स्वास्थ्य चौकीका इन्चार्ज समेत रहेको स्वास्थ्य सहायकले पनि ठेकेदारले तोकिएको समयमा काम     नगरेकाले स्वास्थ्य चौकी भवन नबनेको गुनासो गरेका थिए । कुरा बुझ्दा के रहेछ भने, भच्चेकको प्रहरी र स्वास्थ्य चौकीको भवन बनाउने ठेकेदारले ३ वर्ष पहिले नै ठेक्का लिएको रहेछ । तर अहिले सम्म काम नगरिदिँदा सम्बन्धित निकायहरु मर्कामा परेका रहेछन् ।
गुनासाको भारी लिएर फर्किएका प्रजिअ खरेल चतुरमाला मावि मुच्चोक सम्म आइपुग्दा झण्डै दशाँैपटक गाडिबाट ओर्लिएका थिए । गाडी बिग्रिएर होइन बाटो बिग्रिएर । सशस्त्र प्रहरीको गाडी दर्जनौँ ठाउँमा पल्टिएला झै हुन्थ्यो, यस्तो लाग्थ्यो गाडी हिँडाउने सडकमा होइन, भैँसी हिडाँउने बाटोमा गाडी कुदी  रहेको छ ।

भर्खरै मात्र सडक मर्मत भएको जस्तो देखिन्थ्यो हेर्दा त । ‘यता तिर कोदालो कोदाली धेरै रहेछ’ स्थानीय शान्ति समितिका संयोजक मोहन  पोखरेलले सडकको भित्ता तर्फ इङ्गित गर्दै भने, ‘यो भित्ता त सबै डोजरले होइन कोदालोले खनिएको हुनुपर्छ ।’ सिडिओले हैन भन्न सकेनन् किनभने पोखरेलको कुरा गलत थिएन ।

चनौटे देखि भच्चेक जानेबाटोमा चतुरमाला स्कुलसम्म नै यस्तै समस्या थियो, गाडीमा चढेर पनि घरका कुलदेवता सम्झेर हिड्नुपर्ने । ‘लौ, सिडिओसाब्, गोरखाको बाटो यही हो, अब कसरी काम गर्नुपर्छ हजुर नै सोच्नुहोला’ यो सुझाव थियो अनुसन्धानका नविन भट्टराई  सरको ।

यसरी भच्चेकबाट बल्ल बल्ल ३ घण्टा लगाएर भालुस्वाँरा आइपुगेको सिडिओ सहितको टोलीलाई विद्यालयको दुख सुनाउन आइपुगेका थिए स्थानीय जगत बहादुर खड्का ।

‘गर्नुपर्ने कामहरु धेरै छन्’ जनगुनासा र प्रत्यक्ष अवलोकन पछिको समस्या देखेपछि सिडिओ खरेलले मुख खोले, ‘सबैको सहयोग र सहकार्यमा कार्य अगाडी बढाउनेछु ।’

Post a Comment

 
Top