गोरखा : महिला सबैभन्दा कमजोर हुने समय भनेको सुत्केरी हुने बेला हो । सोही बखत महिलालाई पौष्टिक आहारको आवश्यकता पर्दछ । हाल नेपालका अधिकांश महिलाहरुमा देखिने रोग भनेको गर्भवती हुँदा र सुत्केरी हुँदाको समयमा पर्याप्त पौष्टिक आहार नहुनाले लाग्ने गरेको चिकित्सकहरुको भनाई छ । सोही तथ्यलाई मध्यनजर गर्दै गोरखाका २७ गाविसहरुमा सुआहाराले कुखुरा बाँड्न सुरु गरेको छ ।
महिला गर्भवती भएदेखि बच्चा २ वर्षका नहुन्जेल सम्मको समय अर्थात हजार दिन । तिनै हजार दिनलाई सुनौलो बनाउनका लागि पौष्टिक आहार खुवाउने उद्देश्यले सुआहाराले प्रत्येक सुनौला हजार दिनका महिलालाई न्यु ह्याम्प सायर र ब्लाक स्ट्रोलोप नामको उन्नत जातको ५ वटा कुखुरा वितरण गर्न सुरु गरेको हो ।
‘महिलाहरु गर्भवती भएदेखि बच्चा २ वर्षको नभएसम्मको अवस्था अत्यन्तै संवेदनशिल हुन्छ’ सुआहाराका जिल्ला संयोजक इन्द्र आउजी भन्छन्( ‘सो बखत पोषणको अत्यन्त जरुरी हुन्छ ।’ ग्रामिण महिलाहरुमा पोषणको अभाव हुने भएकाले सो समयमा पोषणको मात्रा पूरा गर्नका लागि कुखुरा प्रदान गरिएको उनको भनाई छ ।
‘कुखुराले ४ महिना पछि नियमित रुपमा करिब २ वर्ष सम्म अण्डा पार्छ’ पद्धति विकासकी सिनियर कमला लामिछाने भन्छिन्- ‘३ कुखुराले दैनिक रुपमा पार्ने अण्डा खाएर महिलाहरुको स्वास्थ्यमा राम्रो प्रभाव परोस् र कुपोषित नहोउन् भन्ने हाम्रो चाहना हो ।’
आइतबार अश्राङका ८३ जना महिलाहरुलाई कुखुरा वितरण गरिएको छ । यूएसएआइडी को सहयोगमा गोरखामा कार्य गरि रहेको सुआहाराले स्थानीय रुपमा पद्धति विकास सेवा केन्द्र मार्फत कार्य सञ्चालन गरिरहेको छ ।
सुआहाराले जिल्लाका २७ गाविसका २ हजार ५ सय ४४ घरधुरीमा रहेका सुनौला हजार दिनका महिलाहरुलाई १३ हजार ४ सय २५ वटा कुखुरा वितरण गर्ने लक्ष्य राखेको छ ।
आइतबार पशु सेवा कार्यालय गोरखाका गोविन्द श्रेष्ठको अध्यक्षतामा अश्राङमा भएको एक कार्यक्रममा अश्राङ गाविस भरका सुनौला हजार दिनका महिलाहरुलाई कुखुरा वितरण गरिएको थियो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विश्वराम श्रेष्ठ, कृषि विकास कार्यालयका रमेश चन्द्र सुवेदी, जिल्ला विकास समितिका कल्प कुमार बस्नेत, जिल्ला खानेपानी तथा सरसफाई डिभिजनका तुलसिंह गुरुङ, पत्रकार महासङ्घ गोरखाका अध्यक्ष भिमलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
Post a Comment