जेठ ४ – रुपन्देहीको तेल चोरी प्रकरणमा प्रहरीले नियन्त्रणमा लिएका ट्यांकरको नापजाँचका क्रममा चोरीसँगै मिसावटको तथ्य पनि बाहिर आएको छ । वैशाख १६ गते रुपन्देहीको पडसरी र मधवलियाबाट डिजेल चोरी गर्दैगर्दा नियन्त्रणमा लिइएका १९ ट्यांकरको अञ्चल प्रहरी कार्यालय भैरहवामा जाँच गर्ने क्रममा शुक्रबार मिसावटको तथ्य खुलेको हो ।

लु१ख ८२८२ नम्बरको ट्यांकरको पाँचवटा च्याम्बरमध्ये तीनवटामा मट्टीतेल फेला परेपछि मिसावटको रहस्य बाहिर आएको छ । नेपाल आयल निगमको रेकर्डअनुसार सो ट्यांकर खाली हुनुपर्ने हो । तेल भर्न भारतको बैतालपुर जाने पालो नपरेको सो ट्यांकरमा मट्टीतेल फेला परेको नापजाँचमा सहभागी एक अधिकारीले बताए । सो ट्यांकर पक्राउ पूर्जी जारी गरिएका फरार व्यवसायी पिंकी जयवाल र प्रीति जयसवालको नाममा छ । थप अनुसन्धान जारी रहे पनि ट्यांकरमा रहेको मट्टीतेल पेट्रोल निकालिएका ट्यांकरमा मिसावटका लागि राखिएको आशंका प्रहरीले गरेको छ ।
नाँपजाच टोलीका अनुसार तेल चोरीमा संलग्न भनिएका १९ ट्यांकरमध्ये १५ वटामा केहीमा घटी र केहीमा बढी परिमाणको डिजल छ । निगमका अनुसार खाली हुनुपर्ने चार ट्यांकरमध्ये एउटामा मट्टीतेल फेला परेको छ भने अर्को एउटामा डिजेल भेटिएको छ । दुईवटा ट्यांकर खाली छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक विक्रमसिंह थापाको नेतृत्वमा जिल्ला प्रशासन, आयल निगम, वाणिज्य कार्यालय, गुणस्तर प्रयोगशाला र सिद्धार्थनगर उद्योग वाणिज्य संघका प्रतिनिधि सम्मिलित टोलीले शुक्रबारदेखि नापचाँज सुरु गरेको हो । टोलीले तेलमा हुने मिसावट तथा गुणस्तर मापनका लागि तेलको नमुना संकलनसमेत गरेको छ । गुणस्तर प्रयोगशाला भैरहवाका प्रमुख अम्बिका गैरेका अनुसार संकलन गरिएको नमुना गुणस्तर परीक्षणका लागि केन्द्रमा पठाइनेछ भनेर आजको नागरिक दैनिकमा यो समचार छापिएको छ । साभार रातोपाटी

Post a Comment

 
Top