जेठ ७ – उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले पत्रकारको पेसागत तथा भौतिक सुरक्षाको लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घले बुधबार यहाँ आयोजना गरेको महिला पत्रकारको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले पत्रकारको व्यावसायिक उत्तरदायित्व निर्वाहसँगै, भौतिक सुरक्षाको जरुरी भएकाले त्यसमा सरकारको सधैँ सहयोग रहने बताए । पत्रकारले व्यावसायिक दक्षता कायम गर्नुपर्नेमा जोड दिँदै उनले थपे “पत्रकार आचार संहिताको व्यावहारिक कार्यान्वयनमा कमजोरी छ, जति उत्तरदायित्व छ, त्यत्तिकै भौतिक सुरक्षाको जरुरी छ ।” गृहमन्त्री गौतमले नेपालको राज्य व्यवस्थाले अवलम्बन गरेका समानुपातिक समावेशी प्रणालीको व्यवहारमा लागू गर्न सरकार लागि परेको भन्दै पत्रकारिता क्षेत्रमा महिला पत्रकार मैत्रीको अवस्था कायम गर्न कानुन र संविधानमा विधिवत् रुपमा के व्यवस्था गर्न सकिन्छ त्यसका लागि सुझाव दिन आग्रह गरे । प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले काउन्सिलले महिला पत्रकारको प्रवद्र्धनका लागि महिलाले निकालेका पत्रपत्रिकालाई वर्गीकरणमा प्राथमिकता दिएको उल्लेख गरे । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले अहिलेपनि अधिकांश पत्रकारले नियुक्ति पत्र र उचित पारिश्रमिक नपाएको साथै भयको वातावरणमा पत्रकारले काम गर्नु परेको बताए । उनले भेलाले सञ्चारमाध्यममा महिलाको अवस्था, लैङ्गिक समावेशीतालगायतका बारेमा छलफल गरी आगामी रणनीति तय गर्ने र त्यसलाई महासङ्घले कार्यान्वयनमा लैजाने उल्लेख गरे । कार्यक्रममा महासङ्घका पूर्व अध्यक्ष, शिव गाउँले, पूर्व महासचिव पोषण केसीलगायतले श्रमजीवी पत्रकारको पीडा र यसमा सरोकारवालाले खेल्नुपर्ने भूमिकाबारे चर्चा गरेका थिए । साभार रातोपाटी
Subscribe to:
Post Comments (Atom)

Post a Comment