जेठ ८ – देशभरका प्रमुख जिल्ला अधिकारी सिडिओ लाई सरकारले निजी सहयोगी पिए र भान्सेको सुविधा दिएको छ । तर, अधिकांश सिडिओले कागजी रुपमा मात्र पिए र भान्से राखेर मासिक २८ हजार आफ्नो खल्तीमा हाल्ने गरेको गृहमन्त्रालय स्रोतले जनाएको छ । ७५ जिल्लाका सिडिओको पिए र भान्सेका लागि राज्यकोषबाट वाषिर्क दुई करोड ५२ लाख रुपैयाँ खर्च हुन्छ । पिएको तलब खरिदारसहर झन्डै १६ हजार हुन्छ भने भान्सेको तलब कार्यालय सहयोगीसरह झन्डै १२ हजार रहेको छ ।
अधिकांश सिडिओले पिए र भान्से नै नराखी उनीहरुको तलब आफैंले हस्ते गरी लिने गरेको उजुरी गृहमन्त्रालयमा परेका छन् । मन्त्रालय स्रोतका अनुसार सिडिओहरुले छुट्टै सुविधा नदिई जिल्ला प्रशासन कार्यालयकै कुनै एक कार्यालय सहयोगीलाई आफ्नो भान्से बनाउने गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा तीनदेखि पाँचजनासम्म कार्यालय सहयोगी रहन्छन् । केही सिडिओले जिल्लाका प्रहरीका भान्सेलाई आफ्नो भान्सेका रुपमा पनि राख्ने गरेका छन् । केहीले प्रशासन कार्यालयका सुरक्षागार्डलाई समेत छुट्टै सुविधा नदिई भान्से बनाउने गरेको उजुरी मन्त्रालयमा परेका छन् । पिएका रुपमा भने केही सिडिओले आफ्नै श्रीमती, छोराछोरीलाई राखेको निर्णय गराएर मासिक तलब लिने गरेका छन् भनेर आजको नयाँ पत्रिका दैनिकमा यो समचार छापिएको छ । साभार रातोपाटी

Post a Comment

 
Top