जेठ ७ (  प्रधानमन्त्री कार्यालयको घुमाउने कुर्सीमा बाक्लो दाह्री भएको मान्छे मजाले अढेस लगाएर ढसमस्स बसिरहेका छन् । अघिल्तिर टेबलमा सानो झण्डा छ र प्र।म। भनेर लेखिएको छ । ती मान्छे प्रधानमन्त्री सुशील कोइराला हुन् भन्ने सबैले अड्कल लगाउन सक्छन् । नजिकै सरकारकोे सय दिन भनेर लेखिएको पत्रिका बोकेर आएका मान्छे देख्ने बित्तिकै दाह्री कन्याउँदै कोइरालाजस्तो देखिने मान्छे भन्दैछन्, ‘सय दिनमा केही गरेन भन्छन्, यत्रो दाढी मुसारिरहेको कसैले देख्दैन कि क्या हो रु’ बुधबारको राजधानी दैनिकमा उत्तम नेपालले प्रधानमन्त्री कोइरालालाई व्यंग्य गर्दै बनाएको कार्टुन हो । कार्टुनिष्ट नेपालले मात्रै होइन धेरैले कोइरालाको काम गराई कछुवा पाराको भयो, सय दिनमा हाई काढेरै दिन बिताए भनेर व्यंग्य र टीकाटिप्पणी गर्दै आएका छन् । सरकारले बिताएको सय दिनलाई हनिमून समय भनिन्छ । यसअवधिमा सरकारले उत्पात र उल्कैको काम गर्छ भन्ने आशा त कसैलाई पनि हुँदैन । तर नयाँ सरकार भएकाले केही सकारात्मक संकेत देख्न पाइन्छ कि भन्ने नागरिकको चाहना हुन्छ । त्यसैले सरकारले यस अवधिमा गरेका कामलाई महत्वका साथ हेर्ने गरिन्छ । एकथरी विश्लेषकहरुको भनाईमा सय दिनमा कोइरालाले सुस्ताएरै दिन बिताए । अर्काथरीको भनाईमा यस अवधिमा केही आशालाग्दा काम भएका छन् । गठबन्धन सरकार भएकाले धेरै काम गर्न अप्ठेरो मात्रै भएको हो । सरकार गठन भएको सय दिन भैसक्दा समेत संविधानसभामा रिक्त २६ जना सभासद मनोनयन हुन सकेका छैनन् । रिक्त संवैधानिक निकाय र राजदूत नियुक्तिको प्रकृया पनि अल्झिएको अल्झियै छ । सुरुमा स्थानीय निकायको चुनाव गर्ने हल्ला गरेपनि सरकारले यसको तयारी नै गर्न सकेको छैन । महंगी र भ्रष्टाचार मौलाएकै अवस्थामा छ । यसैले यस अवधिमा प्रधानमन्त्री र मन्त्रीहरुले जनचाहना अनुसार काम गर्न नसक्दा सरकारको सय दिन निराशाजनक रहेको सत्तारुढ दल कांग्रेस र एमालेकै नेताहरुको मूल्याँकन छ । प्रतिपक्ष एकीकृत नेकपा माओवादीले त इतिहासमै असफल सरकार भनेर आफ्नो दस्तावेजमै उल्लेख गरेको छ । ‘नयाँ जोगीले धेरै खरानी घस्न खोजे झैं’ सुरुमा प्रधानमन्त्री कोइरालाले केही आशालाग्दा काम थाल्नुभएको थियो । प्रधानमन्त्री कार्यालयबाट ५ हजार रुपैंयाभन्दा बढी भुक्तानी दिनुपर्दा तीन दिनसम्म वेबसाइटमा सार्वजनिक गर्ने काम उहाँले थाल्नुभयो । त्यसो त लामो समयदेखि अल्झिएको सत्य निरुपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी ऐन पनि यही अवधिमा पारित भयो । अझ महत्वपूर्ण कुरा त सम्पत्ति विवरण सार्वजनिक हुँदा विश्वकै गरिब प्रधानमन्त्री भनेर पनि कोइरालाको निकै चर्चा भयो । उहाँको आर्थिक मितव्ययी व्यहावरको पनि धेरैले प्रशंसा गरे । यस्तै आउँदो माघ ८ गतेभित्रै संविधान जारी गर्ने गरी काम पनि थालिएको छ । आर्थिक वृद्धि गर्ने वर्तमान सरकारको नीतिलाई पनि उद्योगी व्यवसायीले प्रशंसा गर्छन् । कोइराला सरकारकै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विदेशी नागरिकता, पिआर, ग्रिनकार्ड लिएका कर्मचारीलाई कारवाही गर्न चालेको कदमले सबैतिरबाट समर्थन बटुलेको छ । तर यस अवधिमा प्रधानमन्त्री कोइरालाले सत्ता र संविधान बाहिर रहेका दललाई विश्वास लिनुपर्नेमा उल्टै आफ्नै दलबाट समेत आलोचना खेपिरहनुभएको छ । कांग्रेसकै नेताहरु उहाँको कार्यशैलीप्रति असन्तुष्ट छन् । सत्ता गठबन्धन दलहरुबीच पनि सम्बन्ध प्रगाढ हुन सकेको छैन । मन्त्रालय बाँडफाँडदेखि सुरु भएको मतभेद पछिल्लो समय सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिसम्म आइपुग्दा झन् चर्किएको छ । प्रशासन चलाउने क्षमता नभएका सुस्त प्रधानमन्त्री भनेर कोइरालाले धेरैतिरबाट आलोचना खेपिरहनुभएको छ । भर्खरै हनिमून समय पार गरेका प्रधानमन्त्री कोइराला सामु चुनौतीका पहाड धेरै छन् । सबैको विश्वास जितेर अघि बढ्न सकेमा यस्ता पहाड पन्छाउनको लागि होस्टेमा हैंसे गर्नेहरु थपिने पक्का छ । साभार उज्यालो अनलाईन

Post a Comment

 
Top