नेपाली सेना पहिलो पटक जलविद्युत् उत्पादनमा लाग्ने भएको छ । सेनाले रोल्पाको माडीखोला जलविद्युत् आयोजना अगाडि बढाउन लागेको हो । कुल १२ दशमलव २५ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनामा लगानी गर्न सेना तयार भएको हो । सरकारको चालु आवको बजेट वक्तव्य र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले केही दिन पहिले जारी गर्नुभएको श्वेतपत्रमा समेत सेनालाई जलविद्युत् क्षेत्रमा परिचालन गर्ने योजना समावेश गरिएको छ । लामो समयदेखि सरकारको ‘बास्केट फन्ड’मा राखेको सो आयोजना सेनाले अगाडि बढाउन लागेको हो । तर कुन मोडालिटीमा आयोजना अगाडि बढाउने भन्ने विषयमा भने छलफल जारी रहेको छ । नेपाली सेनाले माडीचौर जलविद्युत् आयोजना कुन मोडालिटीमा बनाउने भन्ने विषयमा रक्षा मन्त्रालयमार्फत अर्थ र ऊर्जा मन्त्रालयमा पठाइसकिएको प्रधानसेनापति राजेन्द्र क्षत्रीले जानकारी दिए। “कुन मोडालिटीमा सो आयोजनालाई अगाडि बढाउने भन्ने विषयमा छलफल जारी रहेको छ । हामीले तालुकदार मन्त्रालयमार्फत अर्थ र ऊर्जा मन्त्रालयसँग छलफल गरी राखेका छौँ । आवश्यक निर्णय हुने वित्तिकै सो आयोजना अगाडि बढ्छ ।” व्यवस्थापिका–संसद्को राज्य व्यवस्था समितिको आजको बैठकमा प्रधानसेनापति क्षत्रीले भने । सेनाको सैनिक कल्याणकारी कोषमा ३५ अर्ब रूपैयाँ छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा न्यून ब्याजदरमा सो रकम राखिएको छ । सैनिक कोषको रकम जनकल्याणकारी काममा खर्च होस् भन्ने आम जनताको चाहनालाई सम्मान गर्दै सेना जलविद्युत्मा लगानी गर्न लागेको हो । सांसदहरुले सैनिक कल्याणकारी कोषलाई प्रयोग गरेर मुलुकमा जारी ऊर्जा सङ्कटलाई हल गर्न आग्रह गरेपछि सेनाको तर्फबाट जलविद्युत् क्षेत्रमा लगानी गर्न लागेको जानकारी गराएको हो ।

Post a Comment

 
Top