नेपाली कांग्रेसका स्थानीय नेता रामजी पौडेल बादलका हत्यामा संलग्न अभियुक्तहरुलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ । कास्कीको लेखनाथ नगरपालिका १ का ५२ वर्षीय पौडेलको हत्या भएको दुई सातापछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले घटनामा प्रत्यक्ष संलग्न भएको अभियोगमा लेखनाथ १६ का कांग्रेस ईकाइ सभापति ३० वर्षीय राजु रानाभाट, तल्लो गगनगौडाका नेपाल आदिबासी जनजाति संघ लेखनाथका सभापति प्रकाश गुरुङ, तरुण दलका १२ वडाका सभापति विश्वास गौत्तम र सातमुहानका बले भन्ने अशोक गुरुङलाई समातेको हो ।
छुट्टाछुट्टै स्थानबाट पक्राउ अभियुक्तविरुद्व कसुर अनुसार सजायका लागि कारबाही अघि बढाइएको कास्कीका प्रहरी प्रमुख हरिबहादुर पालले बताए । घटनाका मुख्य अभियुक्त प्रकाश गुरुङकी प्रेमिकालाई पछ्याएर मोबाइल ट्रेस गर्दै जाँदा समात्न सकिएको प्रहरीले जनाएको छ । घटनापछि भागेका अर्का अभियुक्त विश्वाससँगै देहरादून पुगे पनि प्रेमिकाकै लागि पोखरा फर्किएका गुरुङलाई लुकेको अबस्थामा पोखराको काजिपोखरीबाट प्रहरीले समातेको थियो । अभियुक्त गौतमलाई भारतको देहरादूनबाट समातेर ल्याइएको हो । अर्का अभियुक्त लेखनाथ–१२ का २४ वर्षीय रविन केसी भने फरार छन् । पीडितपक्षले घटनाका मुख्य योजनाकार भएको आरोप लगाउँदै आएका कांग्रेसका लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछानेलाई पक्राउ गरेपनि प्रहरीले सार्वजनिक गरेको छैन ।
‘लामिछानेविरुद्व अनुसन्धान भइरहेकोले सार्वजनिक नगरेका हौं,’ प्रहरी उपरीक्षक पालले भने ‘दोषी भेट्टिए कुनै हालतमा छुट पाउने छैनन् ।’ देउवा पक्षधर पौडेलको हत्यारालाई खोजी गरी कारबाही गर्नेतर्फ पार्टी र प्रहरीले चासो नदिएको भन्दै पीडितहरुले कांग्रेसको कास्की पार्टी कार्यालयमा तालाबन्दी गरेका छन ।
Post a Comment