नयन केसी
गोरखा : अपराध गर्ने र अपराधबाट पिडित हुने दुवै पक्ष समाजकै भएको हुनाले समाजमा जनचेतना जगाएमात्रै अपराध न्युनिकरण हुने उच्च प्रहरी अधिकारीले बताएका छन् । इलाका प्रहरी कार्यालय जौवारीको नवनिर्मित भवन उद्घाटन गर्दै पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रहरी नायब निरिक्षक (डिआइजी) बम बहादुर भण्डारीले जनचेतना जगाउनका लागि स्थानीयसंग प्रहरीले हातेमालो गर्नुपर्ने बताए ।

‘प्रहरीको भवन त एउटा भौतिक आधार मात्रै हो’ बिहिबार जौवारीमा आयोजित एक समारोहमा डिआइजी भण्डारीले भने, ‘मुख्यकुरा भनेको प्रहरीले जनतालाई कस्तो सेवा दिन्छन्, त्यो ठूलो कुरा हो ।’ प्रहरीले जनतासंगको साझेदारीमा सुमधुर राख्नु पर्ने भन्दै उनले भने, ‘यदी त्यसो भएन भने नेपाल प्रहरी कहिल्यैपनि सफल हुन सक्दैन ।’

१ करोड ६२ लाख ८१ हजार लागतमा तयार पारिएको भवनको उद्घाटन गर्दै डिआइजी भण्डारीले अझै धेरै स्थानमा प्रहरी चौकीका लागि भवन आवश्यक   परेको बताए । उनले भने, ‘पश्चिमाञ्चलका १६ जिल्लाका २९ चौकीहरु पुननिर्माण भइसके भने २८ वटा निर्माणाधिन छन् तर पनि धेरै स्थानमा भने चौकी भवन आवश्यक छ ।’
कुल ३९३ वर्ग मिटरमा फैलिएको भवनको शान्ति तथा पुननिर्माण मन्त्रालयको पुननिर्माण आयोजना      अन्तरगत तयार भएको हो । उक्त साँढे २ तले भवनमा १२ कोठाहरु रहेका छन् । त्यसैगरी भान्साकोठाका लागि ३ कोठे अलग भवन तथा शौचालय समेत रहेको छ ।

बिहिबार इलाका प्रहरी कार्यालय जौवारीमा भएको एक विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका डिआइजी भण्डारीले भवनको उद्घाटन गरेका हुन् । कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष स्थानीय पुर्ण बहादुर गुरुङको अध्यक्षता रहेको थियो । कार्यक्रममा जिल्ला न्यायाधिस प्रकाश काफ्ले, प्रजिअ वेद प्रसाद खरेल, स्थानीय विकास अधिकारी महेश बराल, प्रहरी बरिष्ठ उपरिक्षक केदारमान सिंह भण्डारी, शान्ति समिति गोरखाका संयोजक मोहन पोखरेल, जिल्ला प्रहरी प्रमुख प्रनाउ रमेश थापा लगायत जिल्लाका सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रजिअ खरेलले बिनावर्दीको प्रहरीका रुपमा रहेका जनताको सहयोगले नै प्रहरीले राम्रो गर्न सक्ने भन्दै एउटा इप्रकाले १ दर्जन भन्दा बढी गाविस हेर्नुपर्ने बाध्यताका बिचपनि प्रहरीले राम्रो काम गरेकोमा प्रशंसा गरेका थिए । त्यस्तै शान्ति समितिका संयोजक पोखरेलले प्रहरीले जनतालाई केन्द्रमा राखी शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्न प्रहरीलाई सुझाव दिए । जिल्ला प्रहरी प्रमुख थापाले प्रहरी भवन भनेको एउटा भौतिक   संरचना मात्र नभई जनताको न्यायको साझा चौतारी भएको    धारणा व्यक्त गरेका थिए ।

उद्घाटन समारोहमा स्थानीय विकास अधिकारी बराल, एसएसपी भण्डारी, जिल्ला न्यायाधिस काफ्ले, स्थानीय निर्माण समितिका सदस्य पुष्प दवाडी लगायतका अतिथिहरुले मन्तव्य  राखेका थिए ।

Post a Comment

 
Top