भारतमा बढ्दो असहिष्णूताले धेरै कलाकार विवादमा तानिएका छन् । यसैक्रममा बलिउडका चर्चित अभिनेता आमिर खान पनि विवादमा आएका छन् । आमिरलाई उनका परिवारले पछिल्लो अवस्था देश छाड्न दिएको सुझाव सार्वजनिक गरेर उनी विवादमा आएका हुन् । यसअघि नरेन्द्र मोदी सरकारविरुद्ध अवार्ड फिर्ता गर्ने कलाकारको कदममा समर्थन जनाएर बलिउड बादशाह शाहरुख खान पनि विवादमा तानिएका थिए । उक्त विवाद सेलाउन नपाउँदै असहिष्णूताको मुद्दामा आमिर पनि विवादमा आएका हुन् । उनले मोदी सरकारविरुद्ध बोल्दै एक अवार्ड समारोहमा आफ्नो बच्चा देखेर आफैंलाई पहिलोपटक डर लागेको बताए । उनले भने- ‘देशको माहोल देखेर एकपल्ट पत्नि किरणले मसँग साह्रै डर लाग्दो कुरा गरिन् । किरणले मसँग देशै छोड्ने कुरा गरिन् । किरण बच्चालाई कसरी जोगाउने भनेर डराइरहेकी थिइन् ।’ उत्तर प्रदेशको दादरी भन्ने ठाउँमा केही समयअघि गाईको मासु खाएको शंकामा एक जनाको हत्या भएको घटना र यसअघि कन्नड लेखक कलबुर्गीको पनि हत्याकाण्डले भारतमा असहिष्णुता भड्किएको थियो । कैयौं साहित्यकार र फिल्मकर्मीले असहिष्णुताको विरोधमा अवार्ड नै फिर्ता गरिसकेका छन् । हालसम्म यस विषयमा केही नबोलेका आमिर खानले पहिलोपटक भारतको असहिष्णूता र मोदी सरकारविरुद्ध बोलेका हुन् । आमिरको यस्तो भनाईबाट करोडौं दर्शक मर्माहत भएको महसुस गरिएको छ । 
आमिरलाई देश छाडेर बाहिर जान दिँदैनौः मोदी सरकार 
यता सरकारका तर्फबाट केन्द्रिय मन्त्री मुख्तार अब्बास नकवीले आमिर खानलाई देश छोडेर बाहिर जानुपर्ने अवस्था नआउने बताए । उनले भने- आ’मिर भारतमा सुरक्षित छन् । उनले असहिष्णुताका विषयमा जुन किसिमको वक्तव्य दिएका छन्, त्यो पुरै राजनीतिबाट प्रेरित छ । उनले ती मानिसको बेइज्जत गरेका छन्, जसले आमिर खान भनेर मनदेखि सम्मान गर्छन् ।’ 

Post a Comment

 
Top